अर्जुननरसिंह दुवै क्षेत्रबाट सिफारिसमा परेनन्

अर्जुननरसिंह दुवै क्षेत्रबाट सिफारिसमा परेनन्


आगामी मंसिरमा हुन लागेको प्रतिनिधि सभा चुनावमा नुवाकोटका दुवै क्षेत्रबाट अर्जुननरसिंह केसीको नाम प्रत्यक्ष तर्फ सिफारिस हुन सकेन् । पार्टीको दुवै निर्वाचन क्षेत्रका समितिहरुले उनको नाम प्रत्यक्ष तर्फ सिफारिस गर्न चाहेनन् ।

काङ्ग्रेस महामन्त्री शशांक कोइरालासँग गत पार्टी महाधिवेशनमा प्रतिस्पर्धी बनेका केसीको नाम प्रत्यक्ष तर्फ सिफारिस नगरी दुवै निर्वाचन क्षेत्रबाट समानुपातिक तर्फ भने सिफारिस भएको छ ।

यसरी केसीको नाम प्रत्यक्ष तर्फ सिफारिस नहुनुलाई आश्चर्यका रुपमा हेरिएको छ । कांग्रेस क्षेत्रिय समितिले प्रतिनिधि सभाका निम्ति प्रत्यक्ष तर्फ क्षेत्र नम्बर १ बाट डा. रामशरण महत र डा.प्रकाश शरण महतको नाम सिफारिस गरेको छ । दुई नम्बर निर्वाचन क्षेत्रबाट डा. प्रकाशशरण महत र बहादुर सिंह लामाको नाम सिफारिसमा परेको छ ।

त्यस्तै, प्रदेश सभा चुनावका निम्ति क्षेत्र नम्बर १ को १ बाट जगदीश्वरनरसिंह केसी सहित चार जनाको नाम सिफारिसमा परेको छ । यस्तै अर्कोमा रमेश महतसहित चार जनाको नाम सिफारिस गरिएको छ ।

उता, क्षेत्र नम्बर २ को १ मा एस के नेपालसहित चार जनाको नाम सिफारिस गरिएको छ भने अर्कोमा जगत तामाङ्को एकल नाम सिफरिस गरिएको छ ।

प्रतिनिधि सभाका निम्ति डा.प्रकाशशरण महतको नाम दुवै क्षेत्रबाट सिफारिस हुँदा अर्जुननरसिंह केसीको नाम दुवै क्षेत्रिय समितिले किन सिफारिस गरेन सबैको चासोको विषय बनेको छ ।

नुवाकोट, कविलासका डा. महत संविधानसभामा समानुपातिकतर्फ नेपाली कांग्रेसका सभासद् हुन । कुनै पनि संसदीय निर्वाचनमा भाग नलिएका डा. महतले ने.वि.संघको महामन्त्री, सात पार्टीको वार्ता कमिटी सदस्य, राज्यमन्त्री हुर्दै परराष्ट्रमन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् ।

उनको राजनैतिका यात्रा २०३६ सालमा शुरु भएको हो, जुनवेला उनी विद्यार्थी थिए । त्यसक्रममा उनी पटक पटक पक्राउ समेत परेका थिए । उनका दाजु डा. रामशरण महत ख्याति प्राप्त अर्थविद्व र नेपाली काङ्ग्रेसका वरिष्ठ नेता हुनुहुन्छ ।