बृहत लोकतान्त्रिक गठबन्धन बनाउने काङ्ग्रेसको निर्णय

बृहत लोकतान्त्रिक गठबन्धन बनाउने काङ्ग्रेसको निर्णय


नेपाली काङ्ग्रेसले बृहत लोकतान्त्रिक गठबन्धन बनाउने भएको छ । कांग्रेस सभापती एवं प्रधानमन्त्री शेरबहादुर देउवा निवास बालुवाटारमा आज भएको बैठकले वर्तमान सरकारले नै चुनाव गराउने निर्णय गर्दै बृहत लोकतान्त्रिक गठबन्धन बनाउने निर्णय गरेको हो ।

बैठकमा देउवाले प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन पनि वर्तमान सरकारले नै गराउने, त्यसका लागि राप्रपा, राप्रपा प्रजातान्त्रिक, राजपा, नेपाल लोकतान्त्रिक पार्टी, संघीय समाजवादी पार्टी लगायतसँग कुराकानी भैरहेको बताएका थिए ।

एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टी नेपालबीच एकीकरण गर्ने सहमति संविधानको हितमा नरहेको समेत बैठकमा टिप्पणी गरिएको थियो ।

दुई ठूला कम्युनिष्ट पार्टीबीच चुनावी तालमेल गरेर जाने र पार्टी एकीकरण गर्ने सहमति संविधान कार्यान्वयनको हितमा नरहेको धेरैजसो नेताहरुले धारणा राखेको बैठकपछि नेता विमलेन्द्र निधिले जानकारी दिए ।

‘६ बुँदेलाई हेर्ने हो भने प्रदेशसभा र प्रतिनिधिसभाको चुनाव सहज बनाउन भन्दा पनि एउटै कम्युनिष्ट पार्टी बनाउने भन्नेमा केन्द्रित देखिएको छ,’ उनले भने, ‘चुनावी तालमेल एउटै कम्युनिष्ट पार्टी निर्माणका लागि हो । हामीले पनि लोकतान्त्रिक गठबन्धन गर्नुपर्छ भन्ने कुरा आएको छ ।’

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार राजधानीमा उपलब्ध केन्द्रीय सदस्यसहित बसेको कार्यसम्पादन समितिको बैठकले लोकतान्त्रिक गठबन्धन बनाएर आसन्न निर्वाचनमा जाने निष्कर्ष निकालेको नेताहरुले बताए ।

बैठकले संघीय समाजवादी फोरम, राष्ट्रिय जनता पार्टी नेपाल, नेपाल लोकतान्त्रिक पार्टी, तीन वटै राप्रपा लगायतका लोकतन्त्रमा आस्था राख्ने दलहरुसँग गठबन्धन निर्माणका लागि संयुक्त बैठक बस्ने निर्णय समेत गरेको छ ।

कार्यसम्पादन समितिको बैठकमा बाम एकताबारे छलफल हुनुका साथै बृहत लोकतान्त्रिक गठबन्धन बनाउनेबारे छलफल भएको बैठकमा सहभागि कांग्रेस केन्द्रीय सदस्य एनपी सावदले बताएका छन् ।

वाम गठबन्धनबाट नेपालको प्रजातन्त्र संकटमा परेको निष्कर्ष निकाल्दै अब गैरवामपन्थी शक्तिबीच तालमेल गर्नुपर्ने कांग्रेसको निष्कर्ष छ ।

सत्ता साझेदार नेकपा माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी नेकपा एमालेबीच निकट भविष्यमा पार्टी एकता गर्ने गरी तत्काल चुनावी तालमेल गर्ने औपचारिक सहमति भएपछि कांग्रेस पार्टीको आगामी रणनीति बनाउन जुटेको छ ।