भारत, चीन र अमेरिकाका राजदूत काठमाडौंमा

भारत, चीन र अमेरिकाका राजदूत काठमाडौंमा


पछिल्लो समयमा भएको राजनीतिक घटनाक्रम पछि सरकारले ३ देशका नेपाली राजदुतलाई सरकारले डाकेपछि उनीहरु अहिले काठमाडौं आई पुगेका छन् । दुई छिमेकी चीन, भारत र अमेरिकाका लागि नेपाली राजदूतलाई काठमाडौं बोलाएको हो । सरकारले प्रत्यक्ष रुपमा हस्तक्षेप गरेको नदेखाउने गरि संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको निर्देशनमा तीनै राजदूतलाई बोलाइएको हो ।

सम्बन्धित मुलुकमा रहेका राजदूतहरूले अहिलेसम्म गरेका काम र गर्नुपर्ने कार्ययोजनाबारे जानकारी लिन उनीहरूलाई काठमाडौं बोलाइएको भने पनि उनीहरुसंग पछिल्लो समयमा भएको घटनाक्रमका बारेमा ती देशको राय बुझ्न काठमाडौंमा बोलाइएको उच्च स्रोतको भनाई रहेको छ ।  समितिमा उनीहरूले आफ्नो काम, भूमिका, ती देशमा नेपालको अवस्था र महत्वबारे जानकारी दिने कार्यक्रम रहेको छ ।

अमेरिकाका लागि नेपाली राजदूत अर्जुनकुमार कार्की र चीनका लागि नेपाली राजदूत लीलामणि पौडेल काठमाडौं आइसकेका छन भने, भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्याय बिहीबार (आज) आइपुगेका छन् । नेपालको परराष्ट्र नीति छिमेकबाट नै आरम्भ हुने हुनाले दुवै छिमेकका राजदूत र विश्व शक्ति मुलुकका लागि नेपाली राजदूतलाई पहिलो चरणमा निम्त्याएर संसदीय समितिले छलफल गर्न लागेको स्रोतको दाबी रहेको छ ।

अन्य मुलुकमा समेत यस्तो अभ्यास रहेको भन्दै राजदूतहरूलाई सक्रिय बनाउन अग्रसरता देखाइएको समितिले जनाएको छ । समितिले राजदूतहरूसँग मात्र छलफल गर्ने र छलफलमा आएका विषयलाई सरकारसमक्ष राख्नुपर्ने भए पनि सरकारका प्रतिनिधिलाई समेत छलफलमै बोलाएर सुनाउने तयारी गरेको छ । सो समितिमा पहिलो चरणमा दुई छिमेकी र शक्ति मुलुक अमेरिकाका लागि हाम्रा राजदूतलाई बोलाएर छलफल गर्न लागेको छ ।

अन्य मुलुकको पनि आवश्यकताअनुसार बोलाइने कार्यक्रम रहेको समिति सभापति जेबी टुहुरेले बताएका छन् ।  यसअघि प्रधानमन्त्री स्वयंले पनि अमेरिका क्षेत्रका, खाडी र आसपासका राजदूतहरूसँग छलफल गरेका थिए । प्रधानमन्त्रीसँगको छलफलमा अधिकांश राजदूतले मन्त्रालयले समन्वयकारी भूमिका निर्वाह गर्न नसकेको भन्दै परराष्ट्रको महाशाखा ‘इन्टरएक्टिभ’ बनाउनुपर्नेमा जोड दिएका थिए ।

राजदूत स्वयंले पठाउने पत्रको समेत सम्बोधन नहुने, उत्तर नआउनेजस्ता सामान्य र साना विषयमा समेत राजदूतको तहबाट गुनासो आएका थिए । स्रोत साधनलाई मात्र दोष दिने अवस्था नभएको भन्दै उपलब्ध स्रोत साधनमा पनि धेरै काम गर्न सक्ने तर मन्त्रालयले खास गरी बाहिरबाट गएका राजदूतहरूको हकमा असहयोग गर्ने गरेको गुनासो राजदूतहरूबाट सार्वजनिक रूपमै आउने गरेको छ ।

न्युयोर्क र ओमनमा प्रधानमन्त्री देउवाले राखेको छलफलमा समेत यस्ता विषय उठेका थिए । समितिले राजदूतहरूलाई आवश्यक निर्देशनसमेत दिने बताइएको छ । संसदमा उनीहरूले राखेको वक्तव्यका आधारमा समितिले परराष्ट्र मन्त्रालय र सरकारलाई निर्देशन दिनेछ भारतका लागि राजदूत उपाध्याय सो समितिमा सहभागी भई आफ्नो प्रस्तुति दिए लगत्तै आफू निर्वाचन लड्ने भन्दै पदबाट राजीनामा दिने तयारी समेत गरेको बुझिन आएको छ ।