सरकार पुनर्गठन गरिँदै : माओवादीले मन्त्री फिर्ता बोलाउने

सरकार पुनर्गठन गरिँदै : माओवादीले मन्त्री फिर्ता बोलाउने


माओवादी केन्द्र विना पनि सरकार गठनमा बहुमत पुग्ने भएकापछि प्रधानमन्त्री देउवाले सरकार पुनर्गठन गर्ने गृहकार्यलाई अगाडी बढाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको बैठकले बनाएको लोकतान्त्रीक गठबन्धनमा आबद्ध दलहरुलाई सहभागी गराएर उनले सरकार पुर्नगठन गर्न लागेको बालुवाटार स्थित एक उच्च स्रोतले जनाएको छ ।

लोकतान्त्रीक गठबन्धनमा आबद्ध दलहरु मध्ये नेपाली कांग्रेसको २ सय ७, राजपाको २५, लोकतान्त्रिक फोरमको १८, राप्रपाको १९, राप्रपा प्रजातान्त्रिकको १८, संघिय समाजबादी पार्टीको १५ गरी कुल ३ सय २ सांसद हुने भएकाले प्रधानमन्त्री देउवाले सरकार पुर्नगठन गर्नलागेको हो ।

नेकपा माओवादी केन्द्रले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग गठबन्धन गरेपछि सरकारमा सहभागी माओबादी केन्द्रका मन्त्रीहरुलाई प्रधानमन्त्री शेरबहादुर देउवाले बर्खास्त गर्ने तयारी गरेका छन् ।  लोकतान्त्रीक गठबन्धनको तर्फबाट बुधबार बनेको कार्यदलले विहिबार (आज) देखि सरकार पुर्नगठन र मन्त्रालयका बारेमा छलफल गरि टुंगोमा लैजाने जिम्मासंगै यस विषयमा खाका बनाएर प्रधानमन्त्रीलाई दिएपछि मात्रै पुर्नगठन हुने बताइएको छ ।

प्रतिपक्षीसँग गठबन्धन गरिसकेको माओवादी केन्द्रसँग सहकार्य गर्नु सरकारकै लागि र काँग्रेसका लागि घातक हुने भन्दै माओवादीका मन्त्रीहरुलाई बर्खास्त गरेर लोकतान्त्रीक गठबन्धनका नेताहरुलाई मन्त्री बनाउन प्रधानमन्त्री देउवालाई दवाव परेपछि सलफल गरेर सो कार्य गर्न लागिएको स्रोतको दाबी रहेको छ ।

लोकतान्त्रीक गठबन्धनको कार्यदलले मन्त्रालयको भागबण्डा एक दुई दिन भित्रमै तयार पारिसक्ने र चुनावी तालमेलको खाका एक साता भित्रमा तयार पार्ने योजना बनाएको छ । प्रधानमन्त्री देउवाले आफ्ना मन्त्रीहरुलाई बर्खास्त गर्ने सूचना पाएपछि माओवादी केन्द्रले मन्त्रीहरुलाई फिर्ता बोलाउने तयारी गरेको छ । प्रधानमन्त्रीबाट बर्खास्त हुनु भन्दापहिलेनै निस्कनु नै बुद्धिमानी हुने भन्दै माओवादी केन्द्रका नेताहरुकाबीचमा मन्त्री फिर्ता बोलाउने बारेमा छलफल भएको थियो ।

माओवादीबाट मन्त्री भएकाहरु बहिरिएपछि प्रधानमन्त्री देउवाले राप्रपाका अध्यक्ष कमल थापा र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवलाई उपप्रधानमन्त्री सहित सरकारमा लैजाने तयारी समेत गरिएको बुझिन आएको छ । थापा र यादव मध्ये एक जनालाई गृह तथा उपप्रधान र एक जनालाई परराष्ट्र र उपप्रधानमन्त्री बनाउने तयारी समेत गरिएको छ । बुधबारको बैठकपछि काँग्रेस नेता विमलेन्द्र निधिले लोकतान्त्रीक गठबन्धनसंगै सरकार पुर्नगठन गर्न सक्ने बताएका थिए ।