बाम एकीकरण कि ब्राह्मण एकता सम्मेलन ?

बाम एकीकरण कि ब्राह्मण एकता सम्मेलन ?


– अमरदीप मोक्तान

असोज १७ गते मंगलबार २०७४ को साँझ ५ बजे काठमाडौस्थित राष्ट्रिय सभागृह हलमा एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टीबीच बृहद बाम एकता को अवधारणा लाई मुर्त रुप दिन तीन पार्टीबीच एकीकरण भएको छ । नेपालमा स्थिरता विकाश शान्ति सुव्यवस्था स्थापित गर्नका लागि नया र फराकिलो विचार बोकेको राजनैतिक शक्तिको अत्यन्त आवश्यकता महसूस गरिएको बेला तीन पार्टीबीच एकीकरणपश्चात नेपाली राजनीतिका विशालकाय शक्तिको एकजुटताले सर्वहितचिन्तक राजनीतिक पार्टीको जन्म या उदय हुनु/एकजुट हुनु सकारात्मक कुरा हो । तर,दुर्भाग्य के छ भने आफ्नो पार्टीभित्र चर्चा/परिचर्चा छलफल मन्थन चिन्तन नै नगरी तीन पार्टीका शीर्षस्थ ब्राह्मण बाहुल्य नेताको चौकड़ीद्वारा लोकमानविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्दा गरेको सर्जिकल स्ट्राईक जस्तै अचानक तीन पार्टीको एकीकरणको घोषणा गर्नु पार्टीभित्र रहेको निरंकुशतालाई उजागर गरेको छ । साथै हो यो एकीकरणले भविष्यमा राम्रो परिणाम प्राप्त हुनेछ भन्नेमा सन्देह बनिरहने छ ।

तीन पार्टी एकीकरण कार्यक्रममा सबैभन्दा पहिला बोल्ने पालो पाएका नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले पार्टीहरुबीचको एकतालाई इतिहासको आवश्यकताको संज्ञा दिए । उनले इतिहासका कालखण्डमा एउटा पुस्ताले भूगोल एकीकरण गरेको अर्को पुस्ताले लोकतन्त्र स्थापना गरेको भन्दै अबको पुस्ताले प्रगतिशील समुन्नत समाजवादतर्फ देशलाई लैजानुपर्ने आवश्यकता रहेको बताए । त्यस्तैगरी पुष्पकमल दाहाल प्रचण्डले एकता ऐतिहासिक आवश्यतकताबाट निर्देशित भएको बताए ।

तीन दलबीचको सहमति घोषणासभामा बोल्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एउटै कम्युनिष्ट पार्टी निर्माणका लागि निरन्तरतामा क्रमभंग गरेको ‘राजनीति धेरैहदसम्म संभावनाको खेल हो, राजनीतिमा सम्भव नदेखिएका कुराहरु पनि हुन्छन्, कतिपय सम्भव देखिने कुरा पनि हुन सक्दैन्, आज त्यही असम्भावना देखिएको कुरा सम्भव हुँदैछ भन्नुभयो । एमाले अध्यक्ष केपी ओलीले कम्युनिष्ट दलहरुको एकता राष्ट्रियता, अखण्डतालाई माथि उठाउने उद्देश्य लिएर गरिएको र यसले राष्ट्रलाई एकजुट बनाउने उद्घोष गरे । केपी ओलीले अबको राजनैतिक यात्रा सत्ता नभएर राष्ट्रको आर्थिक समृद्धि देशमा सुशासन, सदाचार, भौगोलिक एकता कायम गर्दै इन्द्रधनुषी राष्ट्रिय एकता गर्नुपर्ने औंल्याए ।

एमाले माओवादी नया शक्ति पार्टीबीच राष्ट्रिय हितका लागि एकता एवं सहमतिमा हस्ताक्षर गरिएको भनिएता पनि उल्लेखित कार्यक्रमले सम्पूर्ण नेपालको प्रतिनिधित्व गरेको थिएन संविधानको मूल मर्म समावेसी समानुपातिकमाथि क्रुर रुपमा प्रहार गरेको स्पष्ट रुपमा देखिन्थ्यो । तीन पार्टी बीचको एकीकरणलाई बृहद बाम एकताको संज्ञा दिइए तापनि उल्लेखित कार्यक्रम विशुद्ध ब्राह्मण राजनैतिक एकता सम्मेलन भएको आभास मिलेको थियो भन्दा अन्यथा हुने छैन । तीनै जना वरिष्ट नेताले सम्बोधनको क्रममा आदिवासी जनजाती मधेसी दलित सबैको साझा हित गर्ने उदघोष गरेता पनि मञ्चको अग्रपंक्तिमा दायाँबाट क्रमशः कृष्णबहादुर महरा, रामबहादुर थापा, नारायणकाजी श्रेष्ठ, बाबुराम भट्टराई, केपी शर्मा ओली प्रचण्ड, माधव कुमार नेपाल, वामदेव गौतम, झलनाथ खनाल र भीम गौतम बसेका दृश्यले आगामी दिनको राजनीतक पूर्वानुमान सहजै गर्न सकिन्छ ।

तीन पार्टी एकीकरणको कार्यक्रमका सञ्चालन एमाले नेता विष्णु पौडेलले गरेका थिए भने एकीकरणको दस्तावेज वाचन गर्ने कार्य माओवादी नेता जनार्दन शर्मा प्रभाकरले गरेका थिए । एकीकरण कार्यक्रममा आदिवासी, जनजाति, मधेशी दलितलाई हस्ताक्षर, दस्तावेज वाचन, कार्क्रम सञ्चालन एवं सम्बोधनबाट वञ्चित गरेर उक्त कार्यक्रमले भविष्यको संकेत एवं घोर निरंकुशतन्त्रको स्मरण गराएको छ ।

एमाले माओवादी नयाँ शक्तिको एकीकरण पहाडी ब्राह्मणको मात्र एकता नभई यसको विस्तार तराई मधेशमा पनि भएको छ भन्ने कुराको पुष्टि एमाले माओवादी पार्टीलाई पहाडी ब्राह्मण वर्चस्व स्थापित गर्यो मधेशीलाई दश बनायो मधेशलाई उपनिवेश बनायो भनी पाइला पाइलामा गाली गर्ने राजपाका वरिष्ठ नेता हृदयेश त्रिपाठीसहित विके गुप्ता, पशुपतिदयाल मिश्र, ईश्वरदयाल मिश्र र जगदीश शुक्लासहित बहुसंख्यक मधेशी ब्राह्मणले सुर्य चिन्हमा चुनाव लड्ने घोषणामा हस्ताक्षर गरेर एमाले मा ओवादी, नयाँ शक्तिको एकीकरण बृहद बाम एवं राष्ट्रभक्त शक्तिको एकता नभई आगामी दिनमा हिमाल पहाड तराईमा हुने चुनाव पश्चात आफ्नो निहित स्वार्थसिद्धि एवं राजनीतक भागबन्डाका निमित्त ब्राह्मण एकता गरिएको छर्लंग हुन्छ ।

निःसन्देह नेपालको विकाश समृद्धिका लागि राष्ट्रभक्त शक्तिको एकता अति आवश्यकताको रुपमा महसूस गरिएको छ र तीन पार्टीको एकीकरणको सन्देशलाई पनि सकारात्मक रुपमा लिन सकिन्छ र लिन जरुरी पनि छ । तर नेपाली जनता ले बारम्बार छद्मभेषी नेताबाट धोका पाएका हुनाले यो एकीकरण पनि सन्देहको दायरामा रहेको छ ।

बीपी कोइरालाको आव्हानमा सशस्त्र क्रान्तिमा होमिन्ने र सहादत दिने नेपालीले के प्राप्त गरे ०४६-४७ को जनान्दोलनमा ज्यान गुमाएका अंगभंग भएकाहरुले के प्राप्त गरे, माओवादीको आव्हानमा गरिएको जनयुद्धमा ज्यान गुमाएका १७ हजार होनहार नेपालीको सहादतले राष्ट्रले के नै प्राप्त गर्यो ? नेपाली जनताको बलिदानले राष्ट्रमा सुख समृद्धि त आएन तर राना शाह जस्तै परिवर्तन को प्रत्येक कालखण्डमा जंगबहादुर जस्तै नया नया वंशको उदय भएको छ, जस्तै कांग्रेसमा कोइराला, देउवा, केसी, महत वंश, एमालेमा खनाल, ओली, पोख्रेल, नेपाल वंश त्यस्तैगरी माओवादीमा दाहाल र भट्टराई वंश ।

एमाले माओवादी नयाँ शक्ति पार्टी को एकीकरणको सफलता र असफलताको मुख्य सुत्र के हो भने भाषण र नियमका कुरा नेपाली जनताले धेरै भोगिसकेका छन् । राष्ट्रलाई सही पथमा डोर्याउन र सफल हुन्का लागि अब नेताहरुले नियतमा रहेका पुरातनवादी निरङ्कुश चिन्तनरुपी विषबृक्षलाई हमेशाका लागि जरादेखि उखालेर फ्याँक्नु पर्छ । तीन पार्टीको एकीकरणको प्रारम्भिक चरणमा देखिएको ब्राह्मण एकता सम्मेलन जस्तो दृश्य पुनः नदोहोरियोस् । समुन्नत नेपाल निर्माणको निमित्त सम्पूर्ण नेपाल प्रतिबिम्बित हुने संरचना वर्तमान समयको आवस्यकता हो ।