नौ वटा बैंक तथा वित्तिय संस्थामा रहेको निक्षेपकर्ताको २ अर्ब जोखिममा

नौ वटा बैंक तथा वित्तिय संस्थामा रहेको निक्षेपकर्ताको २ अर्ब जोखिममा


समस्याग्रस्त ९ वटा बैंक तथा वित्तीय संस्थाका सञ्चालक, अध्यक्ष तथा प्रमुख कार्यकारीको बदमासीले निक्षेपकर्ताको २ अर्ब २६ करोड रुपैयाँ भन्दाबढी रकम जोखिममा परेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकका अनुसार समस्याग्रस्त ९ वटा मध्ये दुई वटा विकास बैंक र ७ वटा वित्तीय संस्था रहेका छन । गत आर्थिक बर्षको अन्त्यसम्म नेपाल सेयर मार्केट्स एण्ड फाइनान्स, क्रिस्टल फाइनान्स, कुवेर मर्चेन्ट फाइनान्स, क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स, वल्र्ड मर्चेन्ट बैकिङ एण्ड फाइनान्स, नारायणी डेभलपमेन्ट बैंक, नेपाल फाइनान्स, कर्पाेरेट डेभलपमेन्ट बैंक र ललितपुर फाइनान्समा रहेको निक्षेपकर्ताका रकम जोखिममा परेको छ ।

राष्ट्र बैंकका अनुसार गत असारमसान्तसम्ममा यी ९ समस्याग्रस्त वित्तीय संस्थामा सर्वसाधरणको २ अर्ब २६ करोड ४१ लाख ६० हजार रुपैयाँ निक्षेप फिर्ता गर्न र ५ अर्ब ५५ करोड ८७ लाख २५ हजार कर्जा उठाउन बाँकी रहेको उल्लेख छ ।

समस्याग्रस्त घोषणा गर्दा यी ९ संस्थामा १३ अर्व ३४ करोड कर्जा रहेकोमा चालु आर्थिक वर्ष २०७३÷०७४ को असारसम्म ७ अर्व ९१ करोड कर्जा असुल गरेको राष्ट्र बैंकको समस्याग्रस्त संस्था रिजोलुसन महाशाखाले जनाएको छ ।

यि संस्थामध्ये सबैभन्दा बढी नेपाल शेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेडले २ अर्ब ३५ करोड ३४ लाख ५० हजार रुपैयाँ कर्जा उठाउन बाँकी छ । सबैभन्दा कम कुबेर मर्चेन्ट फाइनान्सले ६ करोड ५६ लाख २० हजार रुपैयाँ कर्जा उठाउन बाँकी छ । समस्याग्रस्त संस्थामध्ये सबैभन्दा बढी क्यापिटल मर्चेन्ट फाइनान्सले ८४ करोड ४८ लाख निक्षेप रकम फिर्ता गर्न बाँकी रहेको छ भने, सबैभन्दा कम कुबेर मर्चेन्ट फाइनान्सकोे ७ करोड ४० लाख रुपैयाँ निक्षेप फिर्ता गर्न बाँकी रहेको छ ।

ति समस्याग्रस्त सस्थामा अधिकांश धितो कमसल र बजारयोग्य नभएको, धितोको मुल्यांकन बजारमूल्य भन्दा बढी गरिएको, ग्रामीण क्षेत्रका खेतवारी तथा भिरालो जग्गा समेत धितो राखेका कारण कर्जा असुलीमा समस्या भएको राष्ट्र बैंकको ठहर रहेको छ ।

हालसम्म समस्याग्रस्त घोषणा गरेकोमा नेपाल विकास बैंक, सम्झना फाइनान्स र युनाइटेड डेभलपमेन्ट बैंक खारेजीमा गइसकेको छ । गोर्खा डेभलपमेन्ट बैंक जनरल फाइनान्स, अरुण फाइनान्स र ललितपुर फाइनान्स भने विभिन्न समूह किनेर संचालनमा ल्याएका छन । केही समस्याग्रस्त संस्थाहरु पनि नयाँ व्यवस्थापन सहित संचालनमा आउने तयारीमा रहेको राष्ट्र बैंकले जनाएको छ ।

९ वित्तीय संस्थामा ९८/६९ प्रतिशत लगानी खराब कर्जामा रूपान्तरण भएको छ । बैंक तथा वित्तीय संस्थामा ५ प्रतिशत भन्दा बढी खराब कर्जा भएमा जोखिम मानिन्छ । यसमध्ये कुवेर मर्चेन्ट फाइनान्स, क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स, वल्र्ड मर्चेन्ट बैकिङ एण्ड फाइनान्स र नेपाल फाइनान्सको शतप्रतिशत नै खराब कर्जा रहेको छ ।

राष्ट्र बैंकले २०७० चैतबाट समस्याग्रस्त संस्था रिजोलुसन महाशाखा गठन गरेर यस्ता समस्याग्रस्त संस्थाहरुको निगरानी गर्दै आएको छ । राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेपछि ती वित्तिय संस्थाले थप निक्षेप संकलन तथा कर्जा लगानी गर्न पाउदैनन् ।