छिमेकीप्रति माओवादी किन यति बैगुनी ?-श्रीमननारायण

छिमेकीप्रति माओवादी किन यति बैगुनी ?-श्रीमननारायण


नेपालका माओवादीले भारतीय माओवादीलाई तालिम दिएकोसम्बन्धी भारतको आरोप निकै गम्भीर र संवेदनशील प्रकृतिको छ । यसको सत्य-तथ्य सार्वजनिक हुनु आवश्यक छ ।
नेपालका माओवादी र भारतका माओवादीबीच सम्बन्ध रहेको स्वीकारोक्ति त नेपालका माओवादीहरू पनि गरिरहेका छन् तर कार्यगत एकता अथवा घनिष्ठ सम्बन्ध नरहेको दाबी दुवै देशका माओवादीले गर्दै आएका छन् । हाल आएर भारतले औपचारिक रूपमै यस कुराको जानकारी नेपाल सरकारलाई गराएपछि नेपाल सरकार, माओवादी र अनमिनसमेतको जवाफ आउनु आवश्यक हुन गएको छ ।
दुवै देशका माओवादी पार्टी, रिम र कम्पोसाका सदस्य भएका कारण एक-अर्कासँग नजिक हुनु स्वाभाविकै हो । दुवैका विचार पनि एक समान नै छन् । नेपालका माओवादीहरू च्ाार वर्षअघि नै हातहतियार बिसाएर शान्ति-प्रक्रियामा संलग्न भई निर्वाचनबाट सबैभन्दा ठूलो शक्ति पनि बनिसकेको छ, यस्तो अवस्थामा पुनः सशस्त्र गतिविधिमा त्यो पनि छिमेकी मुलुकको प्रतिबन्धित सङ्गठनलाई सघाउन अग्रसर हुनु गम्भीर विषय हो । यसले माओवादीको शान्तिप्रतिको इमानदारीमाथि प्रश्नचिह्न तेर्स्याउने काम गरेको छ । भारतका छापाहरूमा नेपालका माओवादी र भारतीय माओवादीहरू पशुपतिदेखि तिरुपतिसम्म लालकोरिडोर बनाउन चाहेको आशयका समाचार र विचारहरू धेरैपटक प्रकाशित र प्रसारित भइसकेका छन् । हुन पनि पवित्र पशुपतिनाथको स्थल नेपालदेखि लिएर पवित्र तिरुपतिको स्थलसम्मको बाटोमा भारतका बिहार, झारखण्ड, उडिसा, छत्तिसगढ, मध्यप्रदेश एवम् आन्ध्र प्रदेशमा माओवादी कम्युनिस्ट पार्टीको उपस्थिति र सक्रियता बाक्लो नै छ । पर्ूर्वीभारतको केही भागमा जातीय आन्दोलन र काश्मिरमा पृथकतावादी आन्दोलनको नाममा भइरहेको धनजनको क्षतिबाट भारत पीडित छँदै थियो तर माओवादी आन्दोलनका कारण यसले थप नयाँ चुनौतीको सामना गरिरहनुपरेको छ ।
हुन त स्वयम् माओवादीहरूका लागि पनि भारतको भूमि कुनै नयाँ होइन । सशस्त्र सङ्घर्षताका नेपाली माओवादीहरूले भारतकै दिल्ली, लखनउ, पटना, सिलिगुडी आदि क्षेत्रमा रहेर आफ्नो आन्दोलनलाई बढाएका थिए । भारतकै भूमिकाका कारण नेपालका माओवादी र सडक सङ्घर्षमा उत्रेका नेपालका राजनीतिक दलहरूबीच पाँच वर्षअघि बाह्र बुँदे सहमति सम्भव हुन सक्यो । त्यो सहमतिकै कारण बिनानिर्वाचन सात दर्जनजति एमाओवादीका नेताहरू अन्तरिम संसद्मा सहभागी हुन सके र कतिपय त मन्त्री नै बन्ने अवसर पाए । संविधानसभाको चुनावपश्चात् त यो दल देशकै सबैभन्दा ठूलो राजनीतिक शक्ति बन्न सफल भएको हो । माओवादी नेतृत्वको सरकार पनि नेपालमा बन्यो । जङ्गलबाट सहर र सत्तामा आउन माओवादीले गोरेटो र घोडेटो होइन राजमार्गका बाटो पाएको छ र सो दिल्लीसम्झौताबाट नै सम्भव हुन सक्यो भन्ने कुरा स्वयम् एमाओवादीका नेता पनि स्वीकार गर्छन् ।
एमाओवादी नेतृत्वको सरकार पतनपछि एमाओवादी भारतमाथि बढी रिसाएको छ जब कि भारतको कारणले नै एमाओवादी सरकारको पतन किमार्थ भएको होइन । एमाओवादीले साझा सरकारको गठबन्धन धर्म एवम् मूल्य तथा मान्यताविपरीत काम गर्न खोज्दा तथा प्रत्येक क्षेत्रमा दलीय हस्तक्षेप गर्न थालेपछि अलोकप्रिय र असफल भएको हो । एमाओवादी आफ्नै कारणले सत्ताबाट हट्नुपरेको थियो । सहयोगीहरूको विश्वास र र्समर्थनलाई कायम राख्न नसक्नु एमाओवादीको कमजोरी हो । भारत मात्रै होइन विश्वका कुनै पनि देशले नेपालमा आएर सरकार बनाउन अथवा भत्काउन सक्दैन किनभने नेपालको सरकार बनाउने नेपालकै संविधान, कानुन र सभासद्हरूले हो, अरूले होइन । बिनाकारण एमाओवादीले भारतलाई आफ्नो विरोधी ठानेको छ । भारतका राजदूतमाथि अमर्यादित व्यवहार गरेपछि स्वयम् एमाओवादीले नै आफ्नो सम्बन्धलाई प्रतिकूल बनाउने काम गरेको हो । शान्तिपूर्ण राजनीतिमा अवतरण गरिसकेको पार्टीमा युद्धकालीन मानसिकता कायमै रहनु दर्ुभाग्यपूर्ण हो, स्वयम् यो एमाओवादीकै लागि घातक हो ।
भारतीय राजदूतमाथि दर्ुर्व्यवहार गर्ने व्यक्तिसँग न त एमाओवादी पार्टीले नै स्पष्टीकरण सोध्यो न त सरकारले नै केही गर्‍यो । त्यस घटनाले दुई देशबीचको सम्बन्धमा नकारात्मक असर पार्ने काम गर्‍यो । एउटा राजनीतिक दलले प्रत्येक मामिलामा हस्तक्षेप गर्न खोज्नु दर्ुभाग्यपूर्ण हो । सरकारले गर्ने काम सरकारलाई नै शोभा दिन्छ । सीमा गाड्ने, सीमा भत्काउने, नक्सा जलाउने र बनाउने तथा सन्धि जलाउने काम आदि र्व्यर्थका विषय हुन् ।
भारतको सशस्त्र द्वन्द्वमा लागेका माओवादीलाई नेपालका माओवादीले सैन्य तालिम दिएको भन्ने विषयबारे यद्यपि एमाओवादीले आफ्नो असहमति जनाएको छ तर यस सम्बन्धमा पार्टीले प्रस्ट रूपमा आफ्नो धारणा सार्वजनिक गरेको छैन । यस सम्बन्धमा सरकारको धारण पनि आउनुपर्छ । अनमिनको जवाफ त चाहिन्छ नै ।