आगामी मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि प्रमुख तीन दलले उम्मेदवार छानेका छन् ।काँग्रेस बैतडीले आकांक्षी उम्मेदवारको नामावली केन्द्रमा पठाएको छ । प्रदेशसभाका लागि दुई र प्रतिनिधिसभाका लागि एक क्षेत्र रहेको बैतडीमा तीन स्थानका लागि काँग्रेसमा २८ आकांक्षी देखिएका छन् । प्रत्यक्षतर्फ उम्मेदवारका आकांक्षीमा चतुरबहादुर चन्द, नरबहादुर चन्द, उत्तरबहादुर ऐर, विनयध्वज चन्द र दिनेशप्रसाद भट्ट हुनुहुन्छ ।
यस्तै प्रदेशसभा निर्वाचनमा प्रत्यक्षका लागि क्षेत्र नं १ बाट हरिमोहन भण्डारी, सुरेन्द्रसिंह ऐर, लोकराज अवस्थी, विष्णुदत्त जोशी, धनबहादुर बोहरा, दीपेन्द्रबहादुर बम, जनकबहादुर चन्द, कपिल केसी र दीपेन्द्रबहादुर चन्द आकांक्षी हुनुहुन्छ ।
प्रदेशसभा निर्वाचनमा प्रत्यक्षका लागि बैतडी क्षेत्र नं २ बाट देवराज जोशी, पूर्णानन्द लेखक, पुरनचन्द्र लेखक, दमनबहादुर चन्द, तेजबहादुर चन्द, जनकराज भट्ट, गजेन्द्रबहादुर चन्द, ईश्वरदत्त भट्ट, जनक भट्ट, प्रेमबहादुर चन्द, रमेशसिंह भण्डारी, शिवराज भट्ट, हर्कबहादुर चन्द र सुरेन्द्रबहादुर चन्द हुनुहुन्छ । नेकपा(एमाले) ले उम्मेदवारका आकांक्षीको नामावली प्रदेश संगठन कमिटीमा सिफारिस गरेको छ । एमाले बैतडीमा पनि प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका लागि सात जना आकांक्षी देखिएका छन् ।
एमाले बैतडीले प्रतिनिधिसभाका लागि पूर्वअर्थ राज्यमन्त्री दामोदर भण्डारी, तत्कालीन जिविस सभापति परमानन्द भट्ट र पदमा खत्रीको नाम सिफारिस गरेको छ । यस्तै प्रदेशसभाका लागि क्षेत्र नं १ बाट सुरेन्द्र पाल र क्षेत्र नं २ बाट जिल्ला सचिव लीलाधर भट्ट, महादेव भट्ट र सुशीला सिंहको नाम सिफारिस गरिएको छ ।
यसैबीच नेकपा ९माओवादी केन्द्र० बैतडीले भने जिल्लाबाटै सर्वसम्मत रुपमा उम्मेदवारको टुंगो लगाएको छ । माओवादी केन्द्रले प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ पूर्वसभासद् एवं पार्टी जिल्ला इन्चार्ज नरेन्द्र कुँवरलाई अघि सारेको छ । प्रदेशसभाका लागि प्रत्यक्षतर्फ क्षेत्र नं १ मा पार्टीका जिल्ला संयोजक प्रेमप्रकाश भट्ट र क्षेत्र नं २ मा गोपाल चन्दलाई उम्मेदवार बनाउने निर्णय भएको छ । बैतडीमा पहिलो चरणअन्तर्गत आगामी मंसिर १० गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुने भएको छ ।
सात हजार मतदाता थप
निर्वाचनका लागि यहाँ थप सात हजार नयाँ मतदाताले मतदान गर्न पाउने भएका छन् । गत असारमा सम्पन्न स्थानीय तहको निर्वाचनमा एक लाख २५ हजार २८३ मतदाता रहेकामा निर्वाचन आयोगले गत साउन १ देखि भदौ ३ सम्म मतदाता नामावली संकलन गरेसँगै सात हजार ३४ मतदाता थपिएपछि मतदाताको संख्या एक लाख ३२ हजार ३१७ पुगेको हो ।
तिनमा ६४ हजार ४७० पुरुष, ६७ हजार ८४५ महिला र दुई तेस्रोलिङ्गी रहेको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी माधव फुयाँलले जानकारी दिनुभयो । बैतडी क्षेत्र नं १ मा ३२ हजार १३६ पुरुष र ३३ हजार २८९ महिला तथा क्षेत्र नं २ मा ३२ हजार ३३४ पुरुष, ३४ हजार ५५६ महिला र दुई तेस्रोलिङ्गी मतदाता छन् । रासस
प्रतिक्रिया