शून्यको आवाज र मानसिक चीत्कारहरू-प्रकाश के.सी.

शून्यको आवाज र मानसिक चीत्कारहरू-प्रकाश के.सी.


‘आदि’ र ‘अन्त’को बीचमा हामीले जीवन भोग्छौँ र ती अवधिभित्र सुन्न चाहने अनि सक्नेदेखि लिएर सुन्नै नचाहने र नसकिने पनि सुन्छौँ । श्रवण गरिएका कथ्यहरूमा जीवन खोज्छौँ, भोग्छौँ, आदर्श पहिल्याउँछौँ वा पहिल्याउन खोजेजस्तो गर्र्छौं । यो अवधिभरि हामी भ्रममा हुन्छौँ, सोबारे पार हुन्छौँ या कतै त्यसै पेण्डुलम जसरी झुलिरहन्छौँ । ‘आदि’ र ‘अन्त’को बीचमा जीवन भए, ‘आदि’ र ‘अन्त’मा के हुन्छ त ? ‘आदि’ र ‘अन्त’मा शून्य हुन्छ । मानव जीवन शून्यबाट सुरु भएर शून्यमा बिलाउँदछ । ‘अगाडि’ र त्यसपछिको ‘पछाडि’को बारेमा आशावादीहरूले जति नै लामो नाम दिए पनि, जति नै सम्भावनाहरू बाँडे पनि, त्यो निर्विकल्प रूपमा शून्यमा हराउँछ । र यहीँ त्यो शून्य, जो ‘आदि’ र ‘अन्त’मा हुन्छ, लाई श्रवणीय भनाएका छन् ती ज्ञाताहरूले जसले जीवनको अर्को अध्याय पनि हुने मान्दछन् ।
काठमाडौंबाट नेपालगन्ज जानेक्रममा तराईको एक बाटोमा गाडी बिग्रिएको सम्झना आउँछ । स्केलले कोरेकोजस्तो लामो अनि सीधा बाटोमा अर्को गाडीको पर्खाइमा बसेको हुन्छु । गर्मीको चकमन्न मध्याह्नमा तनक्क तन्किएको त्यो लामो सडकमाथि आगोकोजस्तो राप उडेको हुन्छ । सर्वत्र चकमन्न र सुनसान भएको सडकको दृश्यपटलको अर्को छेउको पर, पर एक सानो आकृति देखिन्छ । धेरैबेरपछि अचानकै शून्यताको सो अवस्थामा एक अत्यन्तै मिहिन आवाज आउँछ । उक्त आवाज मधुरो ध्वनि, ‘ऊँ’ जस्तो सुनिन्छ । म सडकको बायाँ हात उठाएर उभिरहेको हुन्छु, केहीबेरमा उक्त गाडी हुत्तिएर अगाडि बत्तिन्छ र धेरैबेरमा उपल्लो छेउतिर सानो हुँदै पर पुग्छ । गाडीको ठूलो ‘घुइँ…….’ आवाज मधुरो हुँदै गई विलिन हुनुभन्दा अगाडि उही ‘ऊँ’ जस्तो लाग्ने ध्वनिपछि सानो आकृति भएर गाडी शून्यमा बिलाउँदछ । त्यही घडी कुनै एक वैदिक ज्ञाताको कुरा सम्झेको थिएँ । ‘आदि’ र ‘अन्त’मा ‘ऊँ’ हुन्छ । मेरो अनुभवमा पनि त्यस्तै लाग्यो । र ‘आदि’ तथा ‘अन्त’ भनेको मानव जीवनमा जन्म तथा मृत्युको ‘अगाडि’ तथा ‘पछाडि’को अवस्था हो । अनि त्यही अवस्था नै शून्य हो । त्यसैले शून्यको आवाज पनि कतै उही ‘ऊँ’ जस्तै हुन्छ कि भन्ने लाग्छ ।
अहिले अँध्यारो कोठामा छु । निष्पष्ट अँध्यारिएर रहेको यो कोठाका त्यसैले सबै झ्याल ढोकाहरू बन्द गरिएका छन् । अतः शून्य छ । चकमन्नता व्याप्त यस कोठामा मेरो उपस्थिति पनि शून्य भएको छ । साँझ भर्खरै छिप्पिएको छ बाहिर, तर भित्र यस कोठामा कालो रात छ । म आफ्नो धड्कन पनि सुन्न सक्दिनँ, कोठाभित्र धेरै अगाडिबाट रुमल्लिरहेका शून्यका शुष्कताहरू अझै होलान्, सायद । केही चाडहरू योभित्र भने एक्लिएर बितेका छन् । जे होस्, शून्य प्रशस्तै छ । त्यसको आवाजलाई छाम्न म अधीर भएर लम्पसारिएको छु । कोठाको नीरव चकमन्नताको पनि त आफ्नो आवाज हुनुपर्छ भन्ने मेरो मान्यता रहेको होला, या समय एक्लिएर हात परेको होला, जे होला, यसैले खोजीमा भने पक्कै रहेकै लाग्दछु ।
यो सानो परिवेश, मेरो नितान्त आफ्नो परिवेश हो । मेरो स्वामित्वमा रहेको यस परिवेशको म मालिक हुँ । र, यो मेरो राज्य हो । कसैको दखल छैन मेरो वर्तमान यस परिवेशभित्र, केही बाध्यताहरूको प्रताडना पनि छैन । म अस्तित्वहीन अवस्थामा छु । काठसरी म भुइँमा लम्पसारिएको छु । मेरो आँखाअगाडिबाट सिलिङ अनि दायाँ-बायाँका भित्ताहरू हराएका छन् । नेपथ्यमा हतारका आवाजहरू छैनन्, चोर्ने, लुट्ने वा मार्ने अनि जल्ने-मर्नेहरूका लागि चिच्याउँदै कुद्ने गाडीहरूका आवाज हराएका छन् । दिनभरिको थकाइलाई सराप्दै हिँड्ने कामकाजीहरूका दिक्दारीहरू हराएका छन् । जिन्दगी भनेको उफ्रने हो भन्दै उफ्रने बालबालिकाहरूका हल्लाहरू हराएका छन् । न त जीवन भनेको सप्तरङ्गी इन्द्रेणी हो भन्ने ठान्ने युवाहरूका खिल्खिलाहट नै यथावत् रहेका छन् । तर पनि केही त सुनिनैपर्छ, यस्तो चकमन्न शून्यतामा यहीँ कतै केही त हुनैपर्छ र त्यसैको प्रतीक्षामा छु, भन्छु म ।
मानिसलाई कति चाहिन्छ लम्पसारिनका लागि जमिन – मानिसको आफ्नो शरीरलाई तनक्क तन्काउन मिल्ने नै त होला मानिसको आफ्नो लागि चाहिने जमिन † काठजसरी तनक्क तन्काएर लम्पसारिन मिल्ने बाकस र त्यसलाई सुलुत्त राख्न सकिने एउटा खाडल नै त हो मानिसको स्वामित्व † बाकसभित्र लम्पसारिएको शरीरको आसपासझैं नीरव उस्तै प्रकारको प्रभाव उमार्न सक्ने मेरो वर्तमान आसपासमा उस्तै प्रकारको शून्यता सर्वत्र फैलिएको छ । शून्य र अन्धकारले यसरी धावा बोलिरहेका छन्, यसरी अट्टहास लगाइरहेका छन् कि म त्यही चकमन्न शून्यलाई नै पहिल्याउन नसक्ने गरेर कोलाहलभित्र जाकिँदै गएको छु । मेरो आसपासको नीरवतालाई सामन्जस्यता गर्न सक्ने किसिमको तटस्थताको अभावमा म आन्दोलित भएको छु ।
बिताइएका पहाडजस्ता समयहरूका सम्झनाहरूका चोइटाहरूले बेलाबेलामा चस्काइरहेका छन् । चसक्क घोच्ने ती सम्झनाहरूलाई बलजफ्ती फ्याँक्छु । अतीतहरूलाई पाखा लगाउन आँटेको लगत्तै वर्तमान घडीका सयौँ समस्याहरू ज्वाजल्यमान भई राँकिएर मनभित्र उम्लन थाल्दछ । कानकै जाली फुटाउलाजस्तो गरी समस्याहरू चिच्याउन थाल्दछन् । मेरो शून्यलाई बिथोल्न खोज्ने ती समस्याहरूलाई ज्युँका त्युँ त्यहीँ अर्थात् सँगैको वर्तमान घडीमा छोड्न मन लाग्दछ । वर्तमानले कहिले पो छोड्छ र, ती सधैं अनवरत रूपका समस्याहरू, आलस्यहरू, पीर-पीडाहरूका पोकाहरू लिएर मनलाई चारैतिरबाट कोतर्न थाल्छन् । आधा घन्टाबाट यसरी एकोहोरिएर शून्य सुन्न खोज्दै छु, भनिहालेँ नि, जिज्ञाशा त्यस्तो होइन, आज अनायासै प्रशस्तै समय, एक्लो समय हात परेको छ, त्यसैले । समय बुढेसकालमा झन् पर्याप्त प्राप्त हुन्छन् । कतिपय क्रियाकलापहरूबाट विमुख हुनुपर्ने सो बेलामा मेरा सम्हालिएर नसम्हालिने समयले मलाई कस्तो स्वरूपमा पुर्‍याउला – अन्वेषकजस्तो लाग्ने गरी म प्रयोगमा लीन भएको छु । अचानकै भविष्यका कल्पनाहरूले चिमोट्न थालेका छन् । काठसरी लम्पसारिन मुस्किल पर्दै छ । सोचाइहरू डरलाग्दा अनि निराशामुखी लाग्दै छन् । अँध्याराका निष्पट्टताले डरलाग्दो मुखाकृति लिन खोजेझैं लाग्दै छन् । अपार्टमेन्टभित्रका शून्यताहरू विभिन्न स्वरूपका आवाजहरूमा मनभित्रभित्रै चिच्याउन थालेर कान फुटाउलाजस्तो गर्दै छन् । वर्तमान अवस्थामा औसत जीवन बाँच्ने मानिसहरू चिन्तामुक्त हुँदैनन्, तटस्थ चिन्तक हुँदैनन्, त्यसैले पूर्ण शान्त हुँदैनन्, निक्र्योल हात पारेकोलगत्तै लम्पसारिएको मेरो शरीरसँगै, अगाडि वा पछाडि डरलाग्दा आकृतिहरू लम्पसारिएका लाग्दछन् ।
…. हतारिएर फट्याक्क बिजुलीको स्विच अन गर्दछु । मेरो अपार्टमेन्ट तुरुन्तै जीवित भएको छ । झ्याल खोल्छु । हतारका, रमाइलोका, दिक्दारीका, थकथकीका अनि एक पूर्णतः जीवन्त थरी-थरीका हल्लाहरू ह्वात्तै भित्र छिरेका छन् । टेबुलमाथि राखिएको ऐना हेर्न पुग्छु, एक हतास अनि निन्याउरो अनुहार देख्छु । झ्यालबाहिरको खुल्ला आकाशमा पटकाहरूका रङ्गी-बिरङ्गी झिलमिलहरू आकाशमा फुट्द छन् । तिहारको भाइटीकाको साँझ, कामबाट सीधा घरमा नै फर्केको छु । तिहारभरि लन्डनको यो क्षेत्रमा रहेका भारतीयहरूले दीपावली धुमधामका साथ मनाउँदा रहेछन्, त्यसैको प्रतापस्वरूप बाहिर रमाइलैलाग्दो वातावरण रहेको छ । हतास खोलिएका झ्यालबाहिर, चाडको, हतारको, दिक्दारीको तर जीवन्त विविध हल्लाहरू छरपस्ट भएका छन् । म एक विरसिलो स्वादसँग आफ्नो परिवेशभित्र फरि्कन्छु, त्यसपछि ।
धेरै वर्षपछि पनि यो वर्ष निधार खाली रहेको छ । चेरी आफ्ना दाइभाइहरूलाई टीका लगाइदिन बिहानैदेखि माइतीमा पुगेकी छिन् । अपार्टमेन्टको एक कुनामा राखिएको लक्ष्मीको तस्बिर र सोअगाडि राखिएको थालीमाथिका प्रसादसँगै धूप बाल्छु, स-साना मइनहरू अपार्टमेन्टको भित्र चारैतिर बाल्छु, दीपावलीको भ्रम फैलिन्छ मेरो परिवेशमा पनि र त्यसैले तिहार एक तमासको भइदिन्छ । टीभी खोल्छु, कम्प्युटर अन गर्छु । बाहिरबाट हल्लाहरू अनवरत आइरहन्छन् । पटकाहरूका रङ्गीन चाक्लाहरू आकाशमा आकाशिरहन्छन् । टीभीको आवाज झन् ठूलो गर्छु । चाड सर्लक्क हुर्रिएर मेरोमा सरेको जस्तो लाग्छ । तर यहीँ कतै केही टुटेजस्तो लाग्छ, केही नजिकै फुटेजस्तो लाग्छ । हल्लाहरू त्यसैले बाहिरै छुटेजस्तो लाग्छ । उज्यालो बिस्तारै धमिलिएजस्तो लाग्छ । र, यसरी चकमन्नता अनायासै मेरो खुल्ला परिवेशभित्र छिर्छ । त्यसैले एक्लो, अति एक्लो लाग्दछु । निस्तो लाग्दछु । शून्यता फेरि एकपटक कोठाभित्र फैलिन्छ र त्यसको प्रभावमा म कान ढाक्न पुग्छु, शून्य जो चिच्याउँदै हुन्छ, आम रीतअनुसार उसैगरी खुल्ला परिवेशमा । अनि म सोच्छु र बुझेजस्तो गर्छु- शून्यताको आवाज शून्यमा होइन, कोलाहलमा पो चिच्याएको सुनिँदोरहेछ ।
– ग्रिनवुड, लन्डन, भाइटीकाको साँझ