भारतको मिरगञ्ज पुल मर्मत भई परिक्षण सम्पन्न

भारतको मिरगञ्ज पुल मर्मत भई परिक्षण सम्पन्न


गत भदौ महिनामा आएको बाढीले सीमावर्ती भारतीय बजार जोगवनीदेखि पाँच किमी दक्षिणमा रहेको मिरगञ्ज पुलको मर्मत पूरा भई ठूला मालवाहक सवारी साधन आवागमन परीक्षण सम्पन्न भएको छ । उक्त पुल मर्मत सम्भार गरी सवारी सञ्चालन गर्न करिब डेढ महिना लागेको छ । उक्त पुलबाट आजदेखि साना तथा पेट्रोलियम पदार्थ बोकेका सवारीसाधन सञ्चालन हुनु पर्नेमा सोमबार मध्याह्नसम्म सञ्चालन हुन नसकेको विराटनगर भन्सार कार्यालय रानीका नासु देवीभक्त पौडेलले राससलाई बताउनुभयो ।

पुल मंगलबारदेखि पूर्णरुपमा सञ्चालन भई ठूला सवारी साधन आवागमन हुने विराटनगर भन्सार कार्यालय रानीले जनाएको छ । भारत एवं तेस्रो मुलुकबाट सामान आयात गर्दा रेल्वे मार्ग र मिरगञ्ज पुल हुँदै सडक मार्गको प्रयोग हुँदै औद्योगिक कच्चा पदार्थसहित अन्य सामग्री आयात हुने गरेको थियो ।

उक्त मार्गको रेल्वे यसअघि नै सञ्चालनमा आएको थियो भने मिरगञ्ज पुलको मर्मत नसकिएकाले सडक मार्गबाट आयात हुने सामग्री भन्टाबारी भन्सार नाका हँुदै विराटनगर आइरहेको थियो । उक्त पुलमा तीनवटा ‘स्क्रुपाइलिङ’ हालेर पूर्णरुपमा मर्मत गरिएकाले ठूला मालबाहक साधन आउजाउ गर्न सक्ने बनाइएको निरीक्षण गरेर फर्किएका नेपाल उद्योग वाणिज्य महासंघका प्रदेश नं १ का उपाध्यक्ष राजेन्द्र राउतले जानकारी दिनुभयो ।

पुल अवरुद्ध हुँदा सुनसरी, मोरङका उद्योगी, व्यवसायीले सुनसरीको भन्टाबारी नाका हुँदै औद्योगिक सामान आयात गर्दा अनावश्यक झन्झट, ढुवानी भाडा महँगो र समय पनि बढी लाग्ने गरेको थियो । पुलबाट ठूला मालवाहक सामान नआउँदा विराटनगर भन्सारको राजश्व संकलनसमेत प्रभावित हुन पुगेको थियो । रासस