माओवादी केन्द्र र नेकपा संयुक्तबीच पार्टी एकता 

माओवादी केन्द्र र नेकपा संयुक्तबीच पार्टी एकता 


नेकपा माओवादी केन्द्र र नेकपा संयुक्तबीच पार्टी एकता भएको छ । कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा संयुक्तका अध्यक्ष गणेश शाहले संयुक्त विज्ञप्ति जारी गर्दै पार्टी एकता भएको घोषणा गरेका हुन् ।

काठमाडौको बुद्धनगरस्थित एक पार्टी प्यालेसमा बुधबार दुईपार्टी बीच एकताको घोषणा भएको हो । दुवै अध्यक्षले हस्ताक्षर गरेको विज्ञप्तिमा राष्ट्रियता, राष्ट्रिय अखण्डता, देशको अग्रगामी विकासका लागि विभिन्न समुहमा रहेका प्रगतिशिल, बामपन्थी र देशभक्त गणतान्त्रिक शक्तिहरुलाई बृहत धु्रविकरणमा सामेल हुन अपिल गरेका छन् ।

नेपालका कम्युनिष्ट आक्रामक : प्रचण्डमाओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विश्वका कम्युनिष्ट पार्टीहरु रक्षात्मक ढंगले अघि बढिरहेका बेला नेपालका कम्युनिष्टहरु आक्रामक भएको बताएका छन् ।

उनले २१ औं शताव्दीको समाजबादको मोडल दिन नेपालका कम्युनिष्टहरु तयार भइसकेको भन्दै त्यसका लागि विभिन्न पार्टीहरुसँगको एकताले हालै भएको बाम शक्तिहरुबीचको गठबन्धनलाई उर्जा थप्ने बताए ।

बुधबार नेकपा संयुक्तसँग पार्टी एकीकरण घोषणासभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले कम्युनिष्टहरुको यहि आक्रामक एकताले नेपालबाट समाजबादको नयाँ मोडल आउने दावी समेत गरे ।

कम्युनिष्ट आन्दनेलन यहाँसम्म आउँदा विभाजन र एकता दुवै हुदै आएको भन्दै अध्यक्ष प्रचण्डले अव नेपालका कम्युनिष्ट पहिलाका जस्ता नभइ आक्रामक ढंगले अघि बढ्न सुरु गरेको बताए ।  एकीकरण भएको नेकपा संयुक्तका जयदेव जोशी, मिथला चौधरी र प्रमिला राणा सांसद छन् ।