प्रदेश र प्रतिनिधिसभाको चुनाव सर्ने मन्त्रीको खुलासा

प्रदेश र प्रतिनिधिसभाको चुनाव सर्ने मन्त्रीको खुलासा


कानुन, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले मंसिर १० गतेको निर्वाचन सर्ने खुलासा गरेका छन्। यसअघि सरकारले प्रदेश र प्रतिनिधिसभाको निर्वाचन एकसाथ मंसिर १० र २१ गते दुई चरणमा गर्ने निर्णय गरेको थियो ।

बुधबार रिपोर्टर्स क्लब नेपालले गरेको साक्षात्कारमा बोल्दै मन्त्री थापाले मंसिर १० गते हुने प्रदेशको निर्वाचन केही कारणले तलमाथि भएपनि मंसिर २१ गते हुने निर्वाचन कुनैपनि हालतमा नसर्ने प्रष्ट पारेका छन् ।

विकसित राजनीतिक अवस्थाका कारण मंसिर १० गते तोकिएको निर्वाचन मंसिर २१ गते सर्नसक्ने मन्त्री थापाको भनाइ छ । केन्द्र र प्रदेश सभाको निर्वाचन एकैचोटि गर्ने गृहकार्य भइरहेको भन्दै मन्त्री थापाले प्रतिपक्षलाई सरकारका गतिविधिलाई साथ दिनको लागि समेत आग्रह गरे । उनले भने, ‘प्रतिपक्षले सरकारलाई सहयोग गर्नुपर्छ, शंका गरेर हुँदैन ।’

५९ जना सदस्य रहने राष्ट्रिय सभाका सदस्यमध्ये ५६ जना निर्वाचित हुने र ३ जना प्रतिनिधि मनोनित हुने जानकारी दिँदै मन्त्री थापाले राष्ट्रपति र उप–राष्ट्रपतिको निर्वाचनको लागि कानुन बनिसकेकाले त्यसमा विवाद झिक्नु आवश्यक नहुने समेत प्रष्ट पारे ।