‘नेपालमा कम्युनिष्ट शासन असम्भव, जनताले प्रतिवाद गर्छन्’

‘नेपालमा कम्युनिष्ट शासन असम्भव, जनताले प्रतिवाद गर्छन्’


राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकार अल्पमतमा पर्ने र चुनाव धरापमा पर्न सक्ने सम्भावनापछि त्यसलाई जोगाउन आफ्नो पार्टी सरकारमा सहभागी हुन लागेको बताएका छन् ।

बुधबार बुटवलमा उनले भने, ‘यो परिस्थितिजन्य आवश्यकता हो, हामी सरकारमा जाँदा समयमै निर्वाचन पनि हुन्छ र यो सरकार पनि अल्पमतमा पर्दैन ।’

एमाले र माओवादीबीचको तालमेलले निर्वाचन तालिका प्रभावित हुनसक्ने भएकाले निर्वाचन सुनिश्चितताका लागि आफ्नो पार्टी शेरबहादुर देउवा नेतृत्वको सरकारमा सामेल हुने बताएका हुन् ।

आफ्नो पार्टीले चुनावलाई उच्च प्राथमिकता दिएको बताउँदै थापाले रचनात्मक रुपमा सरकारलाई सहयोग गर्नेसमेत बताए ।

थापालेे नेपालमा वामपन्थी गठवन्धनपछि एमाले र माओवादीले नेपालमा कम्युनिष्ट शासन लादने कोशिस गरेर एकता गरेको भए त्यो असम्भव रहेको दावी गरे ।

एमाले र माओवादी फरक विचारका कम्युनिष्ट भएकाले यो दीर्घकालसम्म टिक्न नसक्ने उनको दाबी छ । कम्युनिष्ट शासनको नेपाली जनताले प्रतिवाद गर्ने उनको दाबी छ ।