पूर्वराजाको ‘अर्थपूर्ण’ भ्रमण

पूर्वराजाको ‘अर्थपूर्ण’ भ्रमण


पूर्वराजा ज्ञानेन्द्र बैंकक भ्रमणबाट अझै फर्कनुभएको छैन । अत्यन्त ‘लो प्रोफाइल’मा भएको यो भ्रमण राजनीतिक रूपमा भने निकै महत्वको हुन सक्ने अनुमान राजनीतिक विश्लेषकहरूको छ । एक हप्ताका लागि भनेर बैंकक जानुभएका उहाँले यसपटकको भ्रमणबारे परिवारका सदस्यलाई समेत केही नबताउनुभएको बुझिएको छ ।

स्रोतका अनुसार भ्रमणबारे निकटवर्तीहरूसमेतलाई केही भनिएको छैन । राजाका साथमा उहाँका स्वकीय सचिव सागर तिम्सिना मात्रै जानुभएको छ । यसअघिका भ्रमणहरूमा सचिवहरूका अलावा कुनै न कुनै परिवारका सदस्य पनि रहने गरेका थिए र भ्रमणको उद्देश्यबारे पनि जानकारी दिने गरिएको थियो । एक हप्ताका लागि भनेर गरिएको भ्रमण दुई हप्ता लम्बिएपछि भ्रमणलाई लिएर अनेक अड्कलबाजीहरू गरिएका छन् । कतिले उहाँ नयाँदिल्ली आउनुभएको भनी प्रचारबाजी गरे पनि उहाँ दिल्लीतर्फ लाग्नुभएको पुष्टि कतैबाट पनि हुन सकेको छैन । उहाँ अहिलेसम्म बैंककमै रहनुभएको बुझिएको छ ।

बैंककमा रहँदा पूर्वराजाले छिमेकी मुलुकहरू भारत र चीनका नेताहरूसँग विशेष भेटवार्ता गर्नुभएको भन्ने अनुमान गरिए पनि यसको आधिकारिक पुष्टि भने हुन सकेको छैन ।

यसैबीच पूर्वयुवराज्ञी हिमानीलाई बद्नाम गर्ने उद्देश्यले राखिएका उहाँका फोटासहितका फेसबुक ‘स्टाटस’हरू बैंककमा बस्ने नेपालीबाटै अपडेट भएको बताइएको छ । पूर्वयुवराज बिरामी हुँदा उपचारका क्रममा हेर्न पुगेकी हिमानीले त्यहाँ युवराजका साथी बनेर बसेकाहरूलाई खासै वास्ता नगरेपछि त्यसको बदलास्वरूप त्यसप्रकारको हर्कत गरेको स्रोतले उल्लेख गरेको छ । त्यसप्रकारको नक्कली फेसबुकको नेपाली फेसबुक प्रयोगकर्ताहरूबाट व्यापक विरोध भएपछि ती स्टाटस र फोटाहरू हटाइएका मात्र छैनन्, फेसबुक पेज नै गायब भएको छ । आधिकारिक निवेदन नपरेकाले यो विषयमा नेपाल प्रहरीले खोजबिन भने गरेको छैन, तर कसैले खोजबिन गर्न चाहेमा तुरुन्तै थाहा हुन सक्ने प्रहरीले बताएको छ । सार्वजनिक जीवनमा भएका व्यक्तित्वहरूलाई बद्नाम गर्नका लागि नक्कली फेसबुक खोल्नेविरुद्ध परिवारका सदस्य मात्र नभएर शुभेच्छुक जोकोहीले रीतपूर्वक निवेदन दिन सक्ने र त्यसमा अनुसन्धान हुने प्रहरीले जनाएको छ ।