शरद गौचनलाई सहिद घोषणा गर्ने तयारी

शरद गौचनलाई सहिद घोषणा गर्ने तयारी


सरकारले नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनलाई सहिद घोषणा गर्ने तयारी गरेको छ ।

अज्ञात समूहबाट हत्या गरिएका गौचनलाई सरकारले सहिद घोषणा गर्ने प्रक्रिया अघि बढाइसकेको गृहमन्त्री जनार्दन शर्माले जानकारी दिएका छन् ।

गौचनको शव यात्रामा सहभागी हुन बिहिबार अनामनगरस्थित महासंघको केन्द्रीय कार्यालय पुगेका शर्माले गौचनलाई सहिद घोषणा गर्ने पुनः प्रतिवद्धता जनाउँदै प्रक्रिया अघि बढिसकेको दावी गरे ।

सरकारले बुधबार अपरान्ह सहिद घोषणा गर्नेलगायतका प्रतिवद्धता जनाएपछि अध्यक्ष गौचनको शव महासंघले बुझेको बताइन्छ । गृहमन्त्री शर्माले व्यवसायीहरुको सुरक्षा दिने प्रतिवद्धता पनि व्यक्त गरेका छन् ।

जनशक्ति अभावमा काठमाडौंको सुरक्षा व्यवस्था बलियो हुन नसकेको स्वीकार्दै गृहमन्त्रीले सुरक्षा व्यवस्था कमजोर हुन नदिन सुरक्षा अधिकारीलाई निर्देशन दिइसकेको बताएका छन् ।