सात प्रदेशका राजधानी यी हुने भए

सात प्रदेशका राजधानी यी हुने भए


उच्चस्तरीय राज्य पुनःसंरचना समितिले देशका सबै सात प्रदेशको राजधानी निश्चित गरेको छ । आज सरकारलाई समितिले यस सम्बन्धी प्रतिवेदन बुझाएपछि मन्त्रीमण्डलको बैठकले यस सम्बन्धमा निर्णय गर्ने छ ।

मन्त्रीमण्डलको बैठक आज साँझ या भोलि बिहानै बस्ने बताइएको छ । समितिको प्रस्ताव अनुसार एक नम्बर प्रदेशको राजधानी सुनसरी तोकिएको छ, धरान हो या इटहरी या इनरुवा सो स्पष्ट हुन सकेको छैन ।

दुई नम्बर प्रदेशको राजधानी जनकपुर, तीन नम्बरको काठमाडौं उपत्यका, चार नम्बरको पोखरा, पाँचको दाङ्ग, छ नम्बरको सुर्खेत र सातको दिपायल राजधानी प्रस्ताव गरिएको छ ।

प्रदेशको निर्वाचन पश्चात प्रदेशसभा बैठक बस्नुपर्ने भएकोले राजधानी अहिले नै तोक्नु परेको हो । निर्वाचन पश्चात प्रदेशसभाले यस सम्बन्धमा अन्तिम निर्णय लिनेछ । प्राप्त जानकारी अनुसार सातवटै प्रदेशका प्रमुखहरुको नियुक्ति आगामी दीपावलीको लगत्तै पछि गरिने छ । प्रदेश प्रमुखहरुको नियुक्ति राजनीतिक भागवण्डाको आधारमा हुने देखिएको छ ।

दुई नम्बर प्रदेशको राजधानी वीरगञ्जलाई बनाउनु पर्ने आवाज बलियो ढङ्गले उठिरहेको छ । त्यस्तै एक नम्बर प्रदेशको राजधानी विराटनगर र पाँच नम्बर प्रदेशको बुटवल राजधानी बनाइनुपर्छ भन्ने माग पनि धेरैको रहेको छ ।