एमाले-माओवादीको अडान : चिकित्सा शिक्षा विधेयक पेश गर्न नदिने

एमाले-माओवादीको अडान : चिकित्सा शिक्षा विधेयक पेश गर्न नदिने


चिकित्सा शिक्षा विधेयकमा सहमति जुटाउन सभामुखले बोलाएको बैठक विना निष्कर्ष टुंगिएको छ ।विधेयकमा सहमति जुटाउन सभामुख ओनसरी घर्ती मगरले तीन दलका प्रमुख सचेतक र महिला, बालबालिका, जेष्ठ नागरिक तथा समाज कल्याण समितिका केही सदस्यलाई बोलाएका थिइन् ।

बैठकमा शिक्षामन्त्री श्रेष्ठले संशोधनसिहत विधेयक संसदमा पेश गर्न दिन आग्रह गरेका छन् । तर, एमाले र माओवादीका नेताहरुले समितिबाट सर्वसम्मत रुपमा आएको विधेयक मन्त्रीले संशोधन गर्न नसकिने बताएका छन् । यदि संशोधन गर्नु पर्ने हो भने सरकारी प्रस्तावलाई फेरि महिला बालबालिका समितिमा नै पठाउनु पर्ने दुई दलको अडान छ ।

उपप्रधान एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठले बुधबार मात्र अनसनरत डा. गोविन्द केसीको माग बमोजिम चिकित्सा शिक्षा विधेयकमा परिमार्जन गर्ने प्रस्ताव संसद सचिवालयमा दर्ता गरेका थिए । जसमा १० वर्षसम्म काठमाडौंमा मेडिकल कलेज नखोल्ने, एउटा विश्वविद्यालयले ५ वटा मेडिकल कलेजलाई मात्र सम्बन्धन दिने उल्लेख छ ।

बैठकमा सभामुख घर्तीले सहमति जुटाउन दलहरुलाई आग्रह गरेकी छन् । शिक्षा मन्त्री श्रेष्ठले भने भोलिको बैठकमा जसरी पनि कार्यसूचीमा राख्न आग्रह गरेका छन् । तर विधेयक फेरि समितिमा पठाउन सम्भव छैन । भोलि संसदको अन्तिम बैठक बस्ने तयारी छ । त्यसपछि संसदसँगै समिति रहने छैन र संसदपछि आउने संसदमा पनि यो विधेयक जाने छैन ।