माक्र्सवाद, लेनिनवाद र माओवादको सिद्धान्त परित्याग गरी ‘नयाँ प्रजातान्त्रिक शक्ति’ बनेको दाबी गर्ने डा. बाबुराम भट्टराई पुनः किन र कसरी कम्युनिस्ट वामपन्थीहरूको एकीकरण प्रक्रियामा सामेल हुन पुगे, यो चासोको विषय बनेको छ । ०५२ सालको भदौमा योगेश भट्टराई र रूपनारायण श्रेष्ठको टोलीले रत्नपार्कस्थित विद्युत् प्राधिकरणको भित्तामा जनमोर्चाको पोस्टर टाँस्न नदिएपछि हिंसात्मक सङ्घर्ष गर्ने निष्कर्षमा पुगेका डा. भट्टराई माओवादी पार्टीभित्र एमालेको सबैभन्दा ठूलो विरोधीका रूपमा चिनिन्थे । जाति, भाषा, धर्म र क्षेत्र आदिको नाममा राजनीति गरेर सद्भाव भड्काउनसमेत उल्लेख्य भूमिका निर्वाह गरेका बाबुराम भट्टराई केही साताअघिसम्म एमालेको आलोचना गरेर थाक्दैनथे । एमालेको कट्टर विरोधी छवि भएका बाबुराम अचानक दुई कम्युनिस्ट पार्टीहरूबीचको एकतामा सामेल भएपछि यस विषयलाई लिएर विभिन्न टीका–टिप्पणी र अनुमान भएका छन् ।
छिमेकी मुलुक इन्डिया (पुरानो संस्थापन) सँग अति निकटतम् सम्बन्ध भएको ठानिएका बाबुराम भट्टराई एमालेसहितको एकतामा सामेल हुनुलाई एकथरीले सन्देहास्पद मानेका छन् । दुई कम्युनिस्ट पार्टीहरूको एकीकरण प्रक्रियाभित्र विदेशीकै इसारा र इच्छाअनुसार उनको प्रवेश भएको हुन सक्ने आशङ्का उनीहरूको छ । आफ्नो राजनीतिक जीवनमा दर्जनौँपटक विभिन्न राजनीतिक समूह र नेतासँग नाता जोड्ने र तोड्ने काम गर्दै आएका बाबुराम भट्टराईलाई बितेको डेढ दशकयता इन्डियाको खास मानिसका रूपमा हेर्न थालिएको थियो । यही छविका कारण उनको पछिल्लो निर्णयलाई ज्यादा सन्देहास्पद मानिएको हो ।
तर, बाबुराम भट्टराई पछिल्लो केही समययता बदलिएकोचाहिँ बाह्य जानकारीमा छैन । उनले आफ्ना अति निकटस्थ व्यक्तिहरूसँग आफू अब एक देशभक्त नेपाली भएर मर्न चाहेको बताउने गरेका छन् । खासगरी गत स्थानीय निर्वाचनको समय (वैशाख आसपास) देखि उनमा निराशा बढेको महसुस निकटवर्तीहरूले गर्न थालेका थिए । भट्टराई भन्ने गर्थे, ‘मलाई अब देशभक्त भएर मर्ने इच्छा छ ।’ उनी इन्डियाप्रति बारम्बार असन्तुष्टि प्रकट गर्छन् र विश्वासप्राप्तहरूसँग भन्ने गर्छन्, ‘इन्डियाको नियत ठीक छैन । अब चीनसँग नबस्ने हो भने हाम्रो राष्ट्रिय सार्वभौमिकताको रक्षा गर्न सकिँदैन ।’ केही समयअघि प्रोस्टेडको उपचार गरी घरमै आराम गरिरहेका बाबुराम भट्टराईलाई भेट्न उनको निवासस्थान पुगेका प्रचण्डसँग पनि उनले ‘अब चीनसँग मिलेर राष्ट्रिय सार्वभौमिकता रक्षा गर्नुको विकल्प नभएको भन्दै हामीबीच सहकार्य र एकता हुन्छ भने यही बिन्दुमा हुन सक्छ’ भनेका थिए ।
आफ्नो नयाँ शक्ति नामक पार्टीबाट अलग्गिएर पुनः माओवादीमै फर्किएका देवेन्द्र पौडेललाई घरमा आकस्मिक रूपमा बोलाएर पनि बाबुराम भट्टराईले आफू देशभक्त भएर मर्न चाहेको र चीनसँग मिलेर मात्र नेपालको राष्ट्रिय सार्वभौमिकता जोगाउन सकिने भन्दै प्रचण्डलगायतका नेताहरूलाई त्यसका लागि तयार रहन प्रेरित गर्नुपर्ने धारणा राखेका थिए । एमाले र माओवादीबीचको एकतामा चीनको ‘योगदान’ भएको र, चीनको पक्षमा काम गर्ने एउटा राम्रो मोर्चा एमाले–माओवादी गठबन्धन बन्ने विश्वास भएपछि बाबुराम भट्टराई ‘एकता’ प्रक्रियामा सामेल भएका हुन् ।
बाबुरामले माओवादी–एमाले गठबन्धनलाई कम्युनिस्ट आन्दोलनको रूपमा मात्र बुझेका भए उनी यो एकता प्रक्रियामा सामेल हुन सम्भव नभएको उनका निकटवर्तीहरूको भनाइ छ । चिनियाँ शुभेच्छा र प्रेरणा प्राप्त हुने विश्वासका साथ बाबुराम कम्युनिस्ट एकीकरण प्रक्रियामा सामेल भएका हुन् भन्ने बाबुरामका हितैषीहरूको भनाइ छ । त्यसैले कम्युनिस्टहरूबीच सुरु भएको यो एकता प्रक्रियालाई भारतविरुद्धको मोर्चाबन्दीका रूपमा बुझियो भने पूराका पूरा गल्ती नहुने देखिएको छ ।
बाबुरामको विजोग !
नेकपा एमाले र माओवादीबीच सहकार्य र एकताको सहमति भएपछि उक्त एकता प्रक्रियामा सामेल हुन ‘झ्यालबाट छिरेका’ डा. बाबुराम भट्टराईको राजनीतिक भविष्य चौपट हुने देखिएको छ । साठी प्रतिशत एमाले र चालीस प्रतिशत माओवादीले लिने भएपछि बाबुरामका लागि एमाले या माओवादीमा सामेल भएर चुनाव लड्नुको विकल्प देखिएको छैन । एमाले नेतृत्व बाबुराम भट्टराईका लागि सुरक्षित कुनै निर्वाचन क्षेत्र छोड्न तयार देखिँदैन भने माओवादीले गोर्खाको दुवै निर्वाचन क्षेत्रमा आफ्नो पार्टीको तर्फबाट उम्मेदवार खडा गर्ने निर्णय गरिसकेको छ । यसअघि माओवादी टिकटमा गोरखाको दुई नम्बर क्षेत्रमा चुनाव लडी विजयी भएका भट्टराईको सो क्षेत्रमा माओवादी नेता नारायणकाजी श्रेष्ठ उम्मेदवार बन्ने निश्चित भइसकेको छ । उक्त क्षेत्र श्रेष्ठले कुनै पनि अवस्थामा नछोड्ने भएका छन् । गोर्खाको अर्को क्षेत्रमा चुनाव लड्न सक्ने अवस्थामा बाबुराम छैनन् ।
बाबुराम भट्टराईलाई अर्को कुनै सुरक्षित क्षेत्रमा उम्मेदवार बनाउने पक्षमा माओवादी अहिलेसम्म छैन । एमाले बाबुरामलाई समानुपातिकतर्फको सांसद बनाउन पनि तयार नभएको बताइन्छ, तर भट्टराईले नयाँ शक्ति विघटन गरेर उनी माओवादी पार्टीमा सामेल भएको अवस्थामा समानुपातिकतर्फबाट सांसद बनाउन माओवादी राजी हुन सक्ने सम्भावना भने देखिन्छ । यसरी ‘काग बढी बाठो हुँदा फोहोर खान बाध्य हुन्छ’ भन्ने उक्तिको चरितार्थ बाबुराम भट्टराईमा हुन पुगेको छ ।
प्रतिक्रिया