रुपान्तरित संसदको आयू भोलिदेखि सकिने भएको छ । खासगरी सार्वजनिक विदाको दिन संसद बैठक बस्ने प्रचलन नभएपनि सभामुख ओनसरी घर्तीले शनिबार दिउँसो संसदको अन्तिम तथा विशेष बैठक बोलाएकी छिन् । संसदको विशेष बैठकमा शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।
निर्वाचन आयोगले प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणाली अन्तर्गतका उम्मेदवारको सूची बुझाउने मिति असोज २९ गतेका लागि तोकेको छ । शनिबार मध्यराति १२ बजेबाट संसदको आयु सकिएपछि राजनीतिक दलहरुले समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको सूची निर्वाचन आयोगलाई बुझाउने छन् ।
सभामुख घर्तीका प्रेस सल्लाहकार वविन शर्माका अनुसार संसदको व्यवस्थापकिय काम शुक्रबार नै सकिनेछ। ‘संसदको व्यवथापकिय काम आजै सकिन्छ । तर, शनिबार शीर्ष नेता र सभामुखले बोल्ने कार्यक्रम छ । विशेष वैठक बोलाइएकाले अन्तिम बैठक भोलिकै हुनेछ,’ शर्माले भने ।
सांसदहरुलाई बाटो खर्च दिएर बिदाइ गरिने भएको छ । सांसदहरुको विदाइका लागि संसद सचिवालयले तयारी गरिरहेका छ । सांसदहरुलाई घरसम्म पुग्ने बाटो खर्च दिएर बिदाइ गर्ने तयारी भइरहेको संसद सचिवालयले जनाएको छ ।
संसद सचिवालय स्रोतका अनुसार सांसदलाई काठमाडौंबाट घरसम्म पुग्न लाग्ने यातायात र खाना, खाजा खर्चबापतको रकम दिने तयारी छ । सभामुखले शनिबार दिउँसो २ बजे सांसदहरुसँग सामूहिक तस्वीर खिचाउने पनि कार्यक्रम छ ।
त्यसलगत्तै ३ बजे बस्ने संसदको अन्तिम बैठकलाई शीर्ष नेताहरुसँगै सभामुखले पनि सम्बोधन गर्नेछिन् । संसदको आयु सकिएसँगै ५ सय ९२ सांसद पूर्व हुने छन् ।
२०७० साल मंसिर ४ गते भएको दोस्रो संविधान सभाको निर्वाचनबाट निर्वाचित भएर आएपछि संसदको पहिलो बैठक माग १२ गते दिउँसो ३ बजे बसेको थियो । सभामुख घर्तीले रुपान्तरिक संसदका सांसदलाई विदाइ गर्ने विषयमा प्रमुख सचेतकहरुसँग छलफल पनि गरेकी छिन् ।
प्रतिक्रिया