भट्टराईले भने, ‘झमेला भए आँखा चिन्ह् लिएर गोरखाबाटै चुनाव लड्छु’

भट्टराईले भने, ‘झमेला भए आँखा चिन्ह् लिएर गोरखाबाटै चुनाव लड्छु’


वाम गठबन्धनमा रहेको नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले माओवादीले सुनयोजित रुपमा योजना बनाएको भन्दै आँखा चिन्ह् लिएर गोरखाबाटै चुनाव लड्ने बताएका छन् ।  काठमाडौंमा जारी पार्टी सचिवालय बैठकलाई सम्बोधनका क्रममा पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले आफू गोरखाबाटै चुनाव लड्ने भन्दै तयारीमा रहन नेता, कार्यकर्तालाई आग्रह गरेका हुन् ।

भट्टराईको भनाइ उद्धृत गर्दै नयाँ शक्ति पार्टीका केन्द्रिय परिसद सदस्य तथा बिद्यार्थी नेता दिपक महतोले, घटना र विचारसंग भने भने, ‘म गोरखाबाट चुनाव लड्छु । सबै तयार हुनुहोस्, चुनाव चिन्हमा कुनै झमेला भए आँखा चिन्ह लिएर लड्छु ।’

एमाले र माओवादी केन्द्रबीच गोरखामा सबै निर्वाचन क्षेत्रमा माओवादी केन्द्रका उम्मेदवार उठाएर भट्टराईलाई काठमाडौंमा उम्मेदवार बन्न लगाउने करिब सहमतिपछि नयाँ शक्ति रुष्ट बनेको हो । असोज १७ गते एमाले, माओवादी केन्द्र र नयाँ शक्तिले आगामी मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा चुनावी तालमेल गर्ने र त्यसपछि पार्टी एकताका लागि प्रयास गर्ने घोषणा गरेका थिए ।

भट्टराईले एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको दिल खुला हुनुपर्नेमा झनै चाम्रो बन्दै गएको बैठकमा टिप्पणी गरेका थिए । उनले अझै वाम गठबन्धन सफल बनाउन लागिपर्ने पनि बैठकमा बताए । भट्टराई गोरखा २ बाट चुनाव लड्ने योजनामा छन् । यसअघि २०७० र ०६४ को संविधानसभा निर्वाचनमा पनि भट्टराईले गोरखामा जितेका थिए ।