सिन्धुमा बढे २८ हजार मतदाता

सिन्धुमा बढे २८ हजार मतदाता


– किशोर बुढाथोकी (सिन्धुपाल्चोक)

स्थानीय तहको निर्वाचनमा भएको नामावलीको तुलनामा जिल्लामा झण्डै २८ हजार मतदाता बढेका छन् । जिल्ला निर्वाचन कार्यालयले सार्वजनिक गरेको पछिल्लो सूचीअनुसार जिल्लामा दुई लाख २६ हजार ५ सय १५ ले मतदाता परिचय पत्रमा नाम दर्ता गराएका छन् ।

स्थानीय तहको निर्वाचनको तुलनामा जिल्लामा २७ हजार ७ सय ८७ मतदाता बढेका हुन् । स्थानीय तहको निर्वाचनमा एक लाख ९८ हजार ७ सय २८ मतदाता थिए । जिल्ला निर्वाचन कार्यालयका अनुसार जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ मा एक लाख १४ हजार चार सय २३ र क्षेत्र नं. २ मा एक लाख १२ हजार एक सय ९२ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

जिल्लाको प्रतिनिधिसभा क्षेत्र नं. १ को प्रदेश सभा क्षेत्र नं. १ मा ५८ हजार आठ सय ६४ र प्रदेश सभा क्षेत्र नं. २ मा ५५ हजार चार सय ५९ मतदाता छन् । त्यस्तै प्रतिनिधि सभा क्षेत्र नं. २ को प्रदेश सभा १ मा ५३ हजार सात सय ४८ र क्षेत्र नं. २ मा ५८ हजार चार सय ४४ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । तथ्यांकअनुसार कुल मतदातामध्ये एक लाख १० हजार दुई सय ६० महिला र एक लाख १६ हजार दुई सय ५५ पुरुष छन् ।

२०६४ मा भएको संविधानसभा निर्वाचनमा जिल्लामा २ लाख ६४ हजार बढी मतदाता थिए । २०७० मा भएको अर्काे संविधानसभा निर्वाचनमा फोटोसहितको मतदाता नामावलीमा १ लाख ७० हजार १ सय ८९ले मात्र नाम दर्ता गराएका थिए ।

फोटोसहितको मतदातामा नाम दर्ता गराउन व्यक्ति स्वयम् उपस्थित हुनुपर्ने भएकाले २०६४ को तुलनामा मतदाता घटेको हुनसक्ने निर्वाचन कार्यालयले जनाएको छ । यसअघि उमेर पुगेका सबै व्यक्तिलाई आफ्ना मतदाता ठान्दै दलका नेताहरुले मतदाता नामावलीमा नाम दर्ता गराइदिने गर्दथे ।

गएका निर्वाचनमा उमेर नपुगेका र नागरिकता प्रमाणपत्र नै नलिएकाहरुकोसमेत मतदाता नामावलीमा नाम हुने गर्दथ्यो । ‘जिल्लाबाट रोजगारीको सिलसिलामा अन्य स्थानमा रहेका र विदेश पुगेकाहरुको संख्या धेरै भएकाले पनि संख्यामा अन्तर आएको हुनसक्छ,’ जिल्ला निर्वाचन कार्यालयका प्रमुख विजयकुमार कार्कीले भने, ‘यसअघि मृत्यु भइसकेकाहरुको समेत नामावलीबाट नाम हटाइएको हुँदैनथ्यो ।’ उनले मृत्यु भएका तथा बसाईं सरेर गएकाहरुको अद्यावधिक गरेकाले अहिलेको संख्या आधिकारिक भएको दाबी गरे ।