प्रहरीका लागि थप कल्याणकारी कार्यक्रम ल्याइने

प्रहरीका लागि थप कल्याणकारी कार्यक्रम ल्याइने


तरल राजनीतिक अवस्थाका कारण संवैधानिक रुपले अनिवार्य बन्न पुगेको निर्वाचन नै आशंकाको घेरामा पर्न थालेको अनुमान गर्न थालिए पनि प्रधानमन्त्री शेरबहादुर देउवाले आफू निर्वाचन गराउन प्रतिबद्ध रहेको सन्देश सम्पेषको प्रयत्न गरेका छन् । ६२औँ प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले मंसिर १० र २१ गतेका लागि तय भएको संघ र प्रदेश निर्वाचनको सुरक्षा तयारीमा जुट्न नेपाल प्रहरीलाई निर्देशन दिएका हुन् ।

स्थानीय तहको निर्वाचन सफल पार्न प्रहरीले महत्वपूर्ण भूमिका खेलेको भनी प्रहरीको प्रशंसा गर्दै देउवाले संघ र प्रदेशको चुनावमा पनि प्रहरीले सोही भूमिका खेल्ने विश्वास व्यक्त गरे । प्रहरी र नागरिकबीचको सामिप्यतामार्फत समाजलाई सुरक्षित राख्न थप सक्रिय भएर लाग्न प्रहरीलाई उनले निर्देशन दिए ।

प्रहरीले देशभित्र मात्र नभई संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा खटिएर अन्तर्राष्ट्रिय क्षेत्रमा समेत शान्ति स्थापनामा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले प्रहरीको आगामी निर्वाचनका लागि आफूलाई नेपाल प्रहरीको निकै भरोसा रहेको बताए ।

सोही अवसरमा गृहमन्त्री जनार्दन शर्माले कर्तव्यपालनको क्रममा वीरगति प्राप्त गरेका प्रहरीका परिवार र घाइते प्रहरीका लागि थप कल्याणकारी कार्यक्रम ल्याउने तयारीमा सरकार रहेको तथा त्यसलाई संघीय प्रहरी ऐनमै समावेश गर्न लागिएको जानकारी दिए । प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राखेर व्यावसायिक प्रहरीका रूपमा विकास गर्न आफूले ८४ बुँदे गृह प्रशासन सुधार मार्गचित्र ल्याएको र सोअनुरूप काम भइरहेको दाबी गृहमन्त्री शर्माको थियो ।

कार्यक्रममा प्रधानमन्त्री देउवाले यसवर्ष कर्तव्य पालनाका क्रममा ज्यान गुमाएका २५ जना प्रहरी कर्मचारीको सम्मानमा तिनका परिवारजनलाई कदरपत्र प्रदान गरे भने प्रहरी महानिरीक्षक प्रकाश अर्यालले प्रहरीले कानूनी मान्यता पाएको दिनको सम्झनामा मनाइने प्रहरी दिवसले सबै प्रहरीलाई देश र जनताप्रति थप कर्तव्यनिष्ट भएर सेवा प्रदान गर्न झक्झक्याउने धारणा अघि सारे ।

पूर्व प्रहरी महानिरीक्षक कुवेरसिंह रानालाई ‘लाइफटाइम अचिभमेन्ट एवार्ड’बाट सम्मानित गरिएको कार्यक्रममा उपस्थित प्रधानमन्त्री देउवा, गृहमन्त्री शर्मा, गृहराज्यमन्त्री श्यामकुमार श्रेष्ठलगायतले प्रहरी प्रधान कार्यालयमा रहेको ‘अमर प्रहरी स्मारक’मा पुष्पहार अर्पण गरेका थिए ।


तस्बिर : रासस