२०७२ सालको भूकम्पबाट क्षतिग्रस्त राजधानीका मन्दिर, पाटीपौवा तथा चैत्यको पुनःनिर्माण तथा मर्मत सम्भार गर्नकालागि १४ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । सोही भुकम्पले घरबास नै नभएका आम जनताहरु खुला आकासमुनी साँढे २ वर्षदेखि कठिन जीवन बताउदै आएपनि सरकारले उचित व्यवस्था गर्न नसक्दा अधिकांश विरामी परेका छन् । भुकम्प पिडितहरुको घर निर्माणमा उदाशिन सरकार भने पाटी पौवा र मन्दीरको पुनःनिर्माणको लागि आवश्यक रकमको हिसाबकिताब गरेर बसेको छ ।

काष्ठमण्डप, हनुमानढोका क्षेत्र तथा धरहराजस्ता महत्वपूर्ण सम्पदा अझै लथालिङ्ग अवस्थामा रहेका छन् । गुठी संस्थानले संकलन गरेको एक तथ्यांकअनुसार सो भूकम्पमा परी देशभरिका ३४१ भन्दा बढी मन्दिर, चैत्य तथा गुम्बामा पूर्ण वा आंशिक रुपमा क्षति पुगेको छ । ती संरचनाको पुनःनिर्माण तथा मर्मत सम्भारका लागि १४ अर्ब खर्च हुने अनुमान रहेको गुठी संस्थानका प्रवक्ता उपप्रशासक सरोज थपलियाले बताएका छन् । उनले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणसँगको छलफलपछि ती सम्पदाको पुनःनिर्माण कार्य चरणबद्घरुपमा अघि बढाउने सहमति भएको बताए ।

गुठी संस्थानअन्तर्गत रहेको काष्ठमण्डपसँगै रहेको सिँल्यँ सत्तलको जीर्णोद्घार कार्य एक करोड ५० लाख रुपैयाँको लागतमा सम्पन्न गरिसकेको छ । जसमा गुठी संस्थानले ६० प्रतिशत तथा कामपाले ४० प्रतिशत रकम व्यहोरेको थपलियाले बताएको समाचार राससले लेखेको छ ।
संस्थानले सैनिक मञ्चसँगै रहेको महाँकाल (शनिदेव) को मन्दिर, रणमुक्तेश्वरमा रहेको महादेवको मन्दिर, ब्लु स्टार होटल अगाडि रहेको हिरण्य नारायणको मन्दिर, वसन्तपुरमा रहेको कुमारी घर तथा भक्तपुरमा रहेको जङ्गम मठको पुनःनिर्माण कार्य छिट्टै अघि बढाउने भएको छ । त्यसका लागि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले गुठी संस्थानलाई एक अर्ब दिने सैद्धान्तिक निर्णय गरिसकेको उनले जानकारी दिए ।
गुठी तैनाथी जग्गामा अरु कसैको हक नलाग्ने र गुठीको मात्रै हक हुने मन्दिर, मठ, गुठी, पाटीपौवाको संरक्षण गर्ने काम गुठी संस्थानले गरिरहेको छ । देशका विभिन्न ६८ जिल्लामा छरिएर रहेको गुठीमा विसं २०६२÷६३ को तथ्यांकअनुसार नेपालमा १४ लाख ५० हजार रोपनी गुठी जग्गा रहेको छ । गुठी तैनाथी जग्गा ४० हजार रोपनी रहेको अनुमान छ ।

संस्थानले हाल वार्षिक चार करोड रुपैयाँ मन्दिर तथा पाटीपौवा जीणोद्धार तथा मर्मत सम्भारका लागि छुट्याउँदै आएको छ । तीमध्ये ५÷१० लाख रुपैयाँ खर्च गरी मर्मत सम्भार हुन सक्ने मठमन्दिरलाई भविष्यमा ठूलो क्षति हुनबाट बचाउन त्यस्ता क्षेत्रमा मर्मत सम्भारलाई संस्थानले प्राथमिकतामा राखी काम गरिरहेको थपलियाले बताए ।
प्रतिक्रिया