अन्तिम बैठकमा देउवाको प्रश्न- ‘प्रधानमन्त्रीले मन्त्री थप्न नमिल्ने ?’

अन्तिम बैठकमा देउवाको प्रश्न- ‘प्रधानमन्त्रीले मन्त्री थप्न नमिल्ने ?’


प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले व्यवस्थापिका–संसदको अन्तिम बैठकमा सम्बोधन गर्दै संविधानभित्र रहेका असन्तुष्टिलाई आगामी दिनमा सम्बोधन गर्न पहल गर्ने बताएका छन् । नेपाली जनताले आफ्नो संविधान आफैं बनाउने विसं २००७ देखि देखेको सपना पूरा गरी संविधानसभाबाट संविधान जारी हुनु ऐतिहासिक घटना भएको उनले बताए ।

संविधान जारी भएपछि विभिन्न कानून बनेको, स्थानीय तहको निर्वाचन सम्पन्न भएको र प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको तयारी भएको उल्लेख गर्दै उनले मधेशी समुदायको माग सम्बोधन गर्न पेश भएको संविधान संशोधन प्रस्ताव पेश हुन नसके पनि स्थानीय तहको निर्वाचन सम्पन्न हुनु ठूलो उपलब्धि भएको दाबी गरे ।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि सुरक्षालगायत सम्पूर्ण तयारी पूरा भएको दाबी गर्दै प्रधानमन्त्री देउवाले आगामी दिनमा संविधानभित्र रहेका असन्तुष्टिलाई सम्बोधन गर्न आफ्नो प्रयास रहने प्रस्ट्याए ।

मन्त्रिपरिषद विस्तारबारे देउवाको तर्क थियो- ‘प्रधानमन्त्रीले मन्त्री थप्न नमिल्ने ?’

संसदलाई सम्बोधन गर्ने क्रममा नेकपा एमालेका अध्यक्ष केपी ओलीले देउवालाई प्रश्न गरे, ‘प्रधानमन्त्रीज्यू, तपाईंलाई थप मन्त्री किन चाहियो ? यो संख्या तपाईले संसद्का १० प्रतिशतसम्मलाई मन्त्री बनाउन मिल्छ भनेर दिएको अभिव्यक्तिको पनि उल्लंघन भएन र ? फेरि शपथ ग्रहण गराउन कसरी जाँदै हुनुहुन्छ, के लोकतन्त्र भनेको कानून नमान्नु हो ?’

निर्वाचन आयोगले आचारसंहिताविपरीत मन्त्री थप्न हुन्न भन्ने पत्राचार गरेको अवस्थामा कानूनको पालना गराउने सरकारबाटै आचारसंहिताको उल्लंघन हुनु दुःखद भएको टिप्पणी गर्दै उनले प्रतिपक्षको यसमा गम्भीर आपत्ति र विरोध रहेको जानकारी गराए । उनले वर्तमान सरकारको एक मात्र काम आशन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन तोकिएको समयमा शान्तिपूर्ण र धाँधलीरहित गराउनु रहेको सुझाव ओलीले दिए ।

यस्तै, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले ननिर्वाचित संविधानसभाबाट संविधान जारी भएसँगै शान्ति प्रक्रिया सफल भएको दाबी गरे । उनले भने, ‘संविधान जारी हुनुसँग शान्ति सम्झौताको सम्बन्ध छ । शान्ति प्रक्रिया सफल हुने सुनिश्चितता नभइकन संविधान बन्ने स्थिति थिएन, त्यसका लागि हाम्रो पार्टी विभाजन हुने मूल्यमा पनि माओवादी सेनाका लडाकुलाई नेपाली सेनामा समायोजनको जोखिमपूर्ण निर्णय मैले लिएँ ।’

आशन्न निर्वाचनका लागि गरिएको वाम तालमेललाई कम्युनिष्ट अधिनायकवादको अर्थमा नबुझ्न आग्रह गर्दै उनले उक्त गठबन्धन कसैका विरुद्ध नभएको तर्क गरे । उनले भने, ‘यो तालमेल वैचारिक आदर्श र लामो समयदेखिको प्रयासको प्रतिफल हो । हामी नेपाली कांग्रेससँग पनि एक प्रकारको सहकार्यमा रहनेछौँ, तालमेल हुँदैमा सरकारबाट माओवादी केन्द्र बाहिरिने छैन, निर्वाचन गराउने दायित्वमा हामी सँगै छौँ ।’


तस्बिर : रासस