रुपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेका सहकारीहरुको बस्तुगत विवरण तयार पार्न कार्यदल गठन गरिएको छ । डिभिजन सहकारी कार्यालय रुपन्देहीका अनुसार तिलोत्तमा नगरपालिकामा विभिन्न प्रकृतिका १८१ वटा सहकारी रहेका छन् । तीमध्ये बचत तथा ऋण सहकारीको संख्या ७८ रहेको डिभिजन कार्यालयले जनाएको छ ।
नगरभित्रका सहकारीको वर्तमान अवस्था चित्रण हुने किसिमले विवरण तयार गर्न नगर कार्यपालिका सदस्य सुखदेव न्यौपानेको संयोजकत्वमा कार्यदल गठन गरिएको हो । कार्यदलले डिभिजन सहकारी कार्यालय, जिल्ला सहकारी संघ, सहकारीका विषयगत संघलगायतका सरोकारवालाहरुसँग समन्वय गरी विवरण तयार गर्नेछ ।
तिलोत्तमा नगरपालिकाको सहकारी सुधार तथा व्यवस्थापन सुझाव उप–समितिको हालै बसेको बैठकले कार्यदल गठन गरेको उप–समिति संयोजक कृष्ण नेपालले जानकारी दिए । बैठकले सहकारी संघ–संस्थाहरूमा रहेको पूँजीलाई उत्पादनमूलक क्षेत्रमा कसरी लगानी गर्न सकिन्छ भन्ने बारेमा सुझाव दिन विषयगत सहकारीका आधारमा विभिन्न कार्यदल समेत गठन गरेको छ ।
ती कार्यदलले स्थानीय तहसँग सहकार्य गरी सहकारीले नगरको समग्र विकास व्यवस्थापनमा गर्न सक्ने काम, सहकारीका माध्यमबाट गर्न सकिने उद्यमशीलताको विकास, सहकारी संघ–संस्थाको व्यवस्थित परिचालनलगायतका विषयमा सुझावसहित प्रतिवेदन पेश गर्नेछन् ।
अन्तरक्रियात्मक बैठकमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले सहकारीले छरिएर रहेको पूँजीलाई एकीकृत गर्ने महत्वपूर्ण काम गरिरहेको बताउँदै अब यस्तो पूँजीलाई उत्पादनमुलुक क्षेत्रमा लगाइनुपर्ने बताए ।
सहकारीलाई प्रचलित नीति, नियमअनुसार चल्न आग्रह गर्दै उनले अब नगरभित्रका सहकारीहरुको नियमनमा कडाई गरिने प्रष्टाए । स्थानीय तहलाई सहकारीको दर्ता, नियमनलगायतका अधिकार दिइएको छ ।
नगर उप–प्रमुख जागेश्वरी चौधरीले नगरभित्रका सहकारीमा एकरुपता ल्याउन खोजिएको बताउँदै समान प्रकृतिका सहकारीहरु मर्जमा जाँदा सबैलाई राम्रो हुने बताइन् । सहकारी विज्ञ डा. खगराज शर्माले सहकारीको अनुगमनमा कडाई गर्नुपर्ने बताउँदै बचत तथा ऋणको काममा मात्र सहकारी अल्झिनु नहुने बताए । नाफाका लागि सहकारीको सदस्य बन्ने गलत प्रवृत्ति हट्नुपर्ने बताउँदै उनले उत्पादनमुलुक जग्गालाई सहकारीकरण गरी सामूहिक कृषि गर्न सकिने बताए ।
नगरपालिकाका कार्यकारी अधिकृत कृष्णप्रसाद सापकोटाले विकासका काममा सहकारीले सहकार्य गर्नुपर्ने बताउँदै उद्यमशीलताको प्रवद्र्धनमा सहकारीसँग मिलेर काम गर्न नगरपालिका तयार रहेको प्रष्टाए ।
डिभिजन सहकारी कार्यालय रुपन्देहीका प्रमुख नेत्र प्रसाद घिमिरेले सहकारीलाई उत्पादनमुलुक क्षेत्रमा लगानी बढाउन आग्रह गर्दै हरेक वडामा रहेका एकै प्रकृतिका सहकारीहरु मर्ज गर्ने नीति बनाउन नगरपालिकालाई सुझाव दिए ।
सो अन्तरक्रियात्मक बैठकमा उप–समितिमा रहेका विभिन्न सहकारीमा आवद्ध अगुवाहरुको सहभागिता रहेको थियो । उनीहरुले बचत तथा ऋणको काम गर्ने सहकारीलाई अनुगमनको दायरमा ल्याउँदै उत्पादनमुलुक क्षेत्रका सहकारीलाई प्रोत्साहन हुने नीति बनाउन स्थानीय तहलाई सुझाव दिएका थिए । कार्यक्रम उप–समिति संयोजक कृष्ण नेपालको अध्यक्षता र नगरपालिकाका लेखा अधिकृत राजेन्द्र आचार्यको सञ्चालनमा भएको हो ।
– चन्द्रकान्त खनाल
प्रतिक्रिया