सबै स्थानीय तहमा वित्तिय पहुँच पुग्न सकेन

सबै स्थानीय तहमा वित्तिय पहुँच पुग्न सकेन


सरकारले सबैले स्थानीय तहमा वित्तिय पहुँ पुऱ्याउने नीति लिएतापनि सरकारको लक्ष्य पुरा हुने देखिएको छैन् । राष्ट्र बैंकको निर्देशन बैंक तथा वित्तिय संस्थाहरुले नमान्दा दुर्गमका बाशिन्दा वित्तिय पहुँच भन्दा बाहिर रहेका हुन् ।

राष्ट्र बैंकले बैंकहरु नपुगेका स्थानमा जान बैंकर्सहरुलाई बोलाएर छलफल गरेपनि त्यसको बेबास्ता भएको छ । चालू आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म बैंक तथा वित्तीय संस्थाका ३८ वटा शाखा स्थापना भएको राष्ट्र बैंक बताउछ ।

तर इलामका सातवटा स्थानीय तहमा बैंक तथा वित्तीय संस्था नपुग्दा त्यहाँका बासिन्दालाई आर्थिक कारोबार गर्न समस्या परेको छ ।

१० वटा स्थानीय तहमध्ये फाकफोकथुम, रोङ, माङ्सेबुङ, माईजोगमाई, सन्दकपुर, चुलाचुली गाउँपालिका तथा माई नगरपालिकामा अझै बैंक पुगेको छैन । यी स्थानमा बैंक नपुगेका कारण स्थानीयको आर्थिक कारोबारमा समस्या परेको छ ।

राष्ट्र बैंकले बैंकहरूलाई तोकेको ठाउँमा जान बाध्य बनाए पनि बैंकहरू भने मान्न तयारनै छैनन् । बाटोघाटो, बिजुली बत्ती, इन्टरनेट तथा अन्य भौतिक सुविधा नभईकन त्यस्ता दुर्गम स्थानमा जान नसक्ने बताउँदै आएका छन् ।

राष्ट्र बैंकको निर्देशनलाई बेवास्ता गरी अटेर गर्ने बढेपछि मापदण्ड तोकि बाध्यकारी नीति ल्याउने तयारी गरेको बुझिएको छ ।

स्रोतका अनुसार सो नीति दुर्गममा नजाने बैंकहरुका निम्ति विशेषत : लागू हुनेछ ।  बैंक अभावमा दुर्गम क्षेत्रका स्थानीयहरूलाई बैंकिङ कारोबार गर्न समस्या भइरहेको बेला राष्ट्र बैंकले बाध्यकारी नीति लिई दुर्गममा सेबा विस्तार गर्न बैंकहरुलाई ताकेता गर्नुपर्ने सरोकारवाला बताउँछन् ।