राजनीतिलाई व्यापारीकरण गरिएपछि…

राजनीतिलाई व्यापारीकरण गरिएपछि…


– निर्जला कक्षपति

आगामी मंसिरका लागि तोकिएको सङ्घीय संसद र प्रदेश सभा निर्वाचनको लागि समानुपातिकतर्फका उम्मेदवार सिफारिस गरिएको छ । यो देशलाई राजनैतिक संकटबाट मुक्त गर्ने नेताको आवश्यकता यतिबेला नेपाली जनतालाइ परेको छ, तर सांसद बन्न र बनाउन चलेको अस्वस्थ प्रतिष्पर्धा र सिफारिस गरिएका भनी चर्चामा आएका कैयन नामबारे विचार गर्दा लाग्छ– आउँदो १० वर्ष मूलुकले खासै उपलब्धि प्राप्त गर्न सक्ने छैन ।

अहिले राजनीतिमा लागेका नेताहरूलाई हेर्दा, हामीकहाँ पञ्चायतकालदेखि राजनीति गर्दै आएका नेताहरूकै बर्चस्व नेपाली राजनीतिमा छ । घुमीफीरी उनै नेता, उनै मन्त्री । एक त उमेर नै ढल्की सक्यो अर्को काम गर्नको लागि कुनै नयाँ भिजन नै छैन । बुढो उमेर भएका कारण कत्तिलाई स्वास्थ्यकै समस्या छ । आफ्नो स्वास्थ्य ठीक पारेर घरमै औषधीमूलो गरेर बस्नु पर्ने अवस्थामा देशको स्वास्थ्य स्थिति ठीक पार्छु भनेर बुढा नेताहरू लागि परिरहेका छन् । खै कसरी सुध्रिएला र यो देशको स्वास्थ्य स्थिति ?!

दुई दशक हुन लागेको छ, मेरो देशको स्वास्थ्य स्थिति बिग्रिएको । चिकित्सा विज्ञान भन्ने गर्छ, रोगको शुरुमै निदान (रोग पहिचान) र उपचार हुन सक्यो भने पूर्ण रुपमा निको हुने गर्छ । आरम्भमै उपचार सुरु गरे चिकित्सकलाई पनि सजिलो पर्छ । तर खै मेरो देशलाई लागेको रोगको अझ निदान समेत हुन सकेको छैन । देशलाई सपार्छु अथवा बनाउँछु भनेर थुप्रै नयाँ नेता समेत यो देशमा जन्मिसकेको अवस्था छ, तर खै जुन जोगी आए पनि कानै चिरेको भनेझैँ भएको छ ।

प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि जति पनि नामहरू आइरहेका छन्, ती नामहरू जनतासँग भिजेका नाम होउन् भन्ने नेपालीजनको चाहना हो । अहिलेका नेताले काम गर्न सकेनन्, देश बिगारे, भ्रष्ट भए भनिन्छ । पक्कै पनि अब आउने नेताहरू त्यस्ता नहुन् भन्ने नै हो । सबै राम्रा र असल मान्छे राजनीतिका लागी योग्य हुन्छन् भन्न सकिँदैन । यसैगरी, आफनो काम र व्यवसायमा सफल भएका व्यक्ति पनि राजनीतिमा सफल हुन सक्छन् भनेर भन्न सकिँदैन । किनभने, राजनीति गर्न त नेतासँग सबभन्दा ठूलो कुरा भनेको जनताको सेवा गर्छु भन्ने भावना नै हुनुपर्छ । इमान्दार, निष्ठावान् र देशको लागि केहि गर्छु, भन्ने सोच त हुनैपर्छ । हाम्रा नेतामा यही गुण नभएर नै होला सायद हामीले यति धेरै दुःख झेल्नुपरेको ।

पछिल्लो समय यूवापुस्ता पनि राजनीतिमा निकै नै हौसिएर आएका छन् । यो एक हिसाबले राम्रो कुरा हो । तर राजनीतिको व्यापार गर्छु भनेर कोही पनि यो क्षेत्रमा प्रवेश गर्छ भने यो भन्दा दुखको कुरा अरु हुन सक्दैन । कोही व्यक्ति यस्तो सोच राखेर राजनीतिमा प्रवेश गर्छ भने आउने नयाँ पिँढीले पनि हामीले पाएको भन्दा बढी दुःख पाउने छन् । नेपाली राजनीतिमा व्यापार निकै फस्टिएको छ । नगदको चलखेल बढ्दो छ । नेताहरूको सोचाई पनि देश बनाउने भन्दा पनि आफू बन्ने नै देखियो । देशलाई कसरी समृद्ध बनाउने भन्दा पनि आफू कसरी समृद्ध बन्ने भन्ने देखियो । पछिल्लो समय नेपाली नागरिकहरू कोही न कोही दलप्रति झुकाव राख्न लालायित भएको पाइयो । किनभने, दलको झण्डा नबोकी दलीय भागबण्डामा नपरिने भयले राजनीतिक दलको सदस्यता लिने क्रम बढ्दो छ । आज राजनीतिमा प्रवेश गर्यो एक–दुइ वर्षमै महत्वपूर्ण पद पड्काइहाल्यो । केही विज्ञता हासिल नगरी, केही ज्ञान आर्जन नगरी पद पड्काउने लोभमा राजनीतिप्रति लालायित छन् । आस्था र विश्वासको राजनीति गुम्दै गएको अवस्था छ । यसले गर्दा योग्य व्यक्तिहरू ओझेलमा परेका छन् । हरेक क्षेत्रमा राजनीति घुसेको छ । यसरी बिग्रेको यो भताभुङ्ग देशको लथालिङ्ग राजनीति कसरी सप्रिने हो ?

राजनीतिज्ञ भनेको महत्वकांक्षी तर दूरदर्शी हुनुपर्छ । पृथ्वीनारायण शाह पनि महत्वाकांक्षी राजामै पर्छन् । नेपाललाई एकीकरण गर्ने महत्वकांक्षा उनले नपालेको भए नेपालको एकीकरण हुने थिएन । फेरि राजनीतिमा भाषण भन्दा काम अत्यन्त महत्वपूर्ण हुन्छ । मिठा भाषणले नेताप्रति आर्कषित त गर्ला तर अन्ततः काम नै महत्वपूर्ण हुन्छ । नेताले हरेक दिन कसरी आफ्नो देशलाई समृद्ध बनाउने भन्ने सपना देख्न सक्नुपर्छ ।

महान नेता बीपी कोइराला त्यसबेलाको समयमा हरेक नेपालीसँग दुइवटा दुहुनो गाई हुनुपर्छ भन्ने गर्थे, आफूले १५ वर्ष सरकार चलाउन पाए हरेक नेपालीको आर्थिक स्थिति मध्यमवर्गीय परिवारसरह बनाउने बीपीको सपना थियो । बीपी भन्थे, हामीले योजना बनाउँदा दूर–दराजका गाउँमा बस्ने गरिब जनतालाई हेरेर काम गर्नुपर्छ । सरकारमा पुगेका दुई महिनापछि देशको आर्थिक अवस्थाअनुसार उनले पहिलो प्रधानमन्त्री र मन्त्रीहरूकै तलब सुविधा घटाए । गाडी सुविधा कम गराए ।

के नेपालमा बीपीजस्तै महान् व्यक्तित्वको जन्म नभएकै हो त ? अथवा नेताहरूले काम नै गर्न नखोजेका हुन् त ? यो प्रश्न गम्भीर छ र उत्तर खोज्न पनि उत्तिकै जटिल । केही नेताहरूले काम गर्ने प्रयास नगरेका होइनन् तर उनीहरूलाई लामो समय टिक्न नदिने कुसंस्कार बढ्दो छ । यसमा सत्प्रतिशत हामी नेपालीकै हात छ । किनभने आफ्नो पार्टीको मन्त्री होइन भने त्यसलाई कसरी हटाउने भन्ने प्रयास हामी सबैको रहन्छ । राम्रो काम गर्नेलाई राम्रो भनेर प्रशंसा र प्रेरित गर्न हामीले कहिल्यै जानेनौँ ।

पछिल्लो समयमा राजनीतिप्रति मानिसको अभिरुचि यति बढेको छ कि त्यो भनीसाध्य छैन । कलाकार, प्रोफेसर, पत्रकार, वकिल, चिकित्सक सबै पेशा र व्यवशायमा लागेकाहरूको अन्तिम लक्ष्य भनको राजनीति जस्तो देखिएको छ । आखिर के छ राजनीतिमा ? राजनीति भनेको त दुःखको क्षेत्र हो । आफूले खाइ–नखाई जनताको सेवा गर्नु पर्ने क्षेत्र । रुपैयाँ पैसा नकमाइने क्षेत्र हो यो । तर खै किन यत्रो आकर्षण ? सायद राजनीतिलाई व्यापारीकरण गरिँदा नै यो क्षेत्र यति धेरै दुर्गन्धित भएको हुन सक्छ । जे होस् यो देशलाई सपार्छु भन्नेहरूमा सेवा गर्ने भाव, इमान्दारिता, राजनीतिक सर्मपण त्याग र बलिदान हुन आवश्यक छ । हैन भने राजनीतिमा लागेको आडमा फाइदा लुट्नु सिवाय अरु केही हुने छैन ।
[email protected]