रामलीला महोत्सवमा १८ लाख संकलन

रामलीला महोत्सवमा १८ लाख संकलन


प्राविधिक शिक्षा सञ्चालन गर्ने उद्देश्यले बैतडीको दशरथचन्द नगरपालिका–१ गुरुखोलामा सञ्चालन भइरहेको रामलीला महोत्सवमा रु १८ लाख दानस्वरुप संकलन भएको छ । असोज १५ गतेदेखि दशरथचन्द नगरपालिका–१ गुरुखोलामा महारुद्र रामलीला महोत्सव मूल आयोजक समितिको आयोजनामा सञ्चालन भएको रामलीला महोत्सवमा उक्त रकम संकलन भएको महोत्सव मूल आयोजक समितिका संयोजक तथा वडाध्यक्ष भुवनराज भट्टले जानकारी दिनुभयो ।

जसमा सबैभन्दा बढी वाणिज्य राज्यमन्त्री नरबहादुर चन्दले रु एक लाख २५ हजार दान गर्नुभएको छ । यस्तै दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्र थापा, दशरथचन्द नगरपालिका–२ का वडाध्यक्ष रनबहादुर बोहरा र दशरथचन्द नगरपालिका–१ स्थित मुस्याचौर बजारका प्रतिष्ठित व्यापारी वीरेन्द्र भट्टले जनही ५१÷५१ हजार रकम दान गर्नुभएको रामलीला मूल आयोजक समितिका संयोजक भट्टले बताउनुभयो ।

यसका साथै अन्य थप दानवीरबाट संकलित दान रकम गरी रु १८ लाख संकलन भएको बताइएको छ । पछिल्लो समय ग्रामीण क्षेत्रमा पनि प्राविधिक शिक्षामा विद्यार्थीको आकर्षण बढ्दै जान थालेपछि मणिलेक मावि गुरुखोलामा पनि प्राविधिक शिक्षा सञ्चालनका लागि रामलिला महोत्सवको आयोजना गरिएको रामलीला मूल आयोजक समितिका संयोजक भट्टले बताउनुभयो । उहाँले भन्नुभयो “संकलित रकमले आगामी वर्षदेखि प्राविधिक शिक्षा सञ्चालनका लागि जम्मा गरिनेछ ।”

प्राविधिक शिक्षा सञ्चालन गर्न विद्यालयसँग आर्थिक स्रोत नहुँदा रामलीला महोत्सवको आयोजना गरी आर्थिक संकलन गरिएकोे हो । ‘धर्म, कला संस्कृति जगेर्ना तथा अध्यात्मिक क्षेत्रको विकास गर्दै प्राविधिक शिक्षालय स्थापनार्थ’ असोज १५ गतेदेखि शुरु भएको रामलीला महोत्सव असोज २९ गते सम्पन्न भएको हो । रासस