विश्वविख्यात अन्नपूर्ण पदमार्गमा पर्यटकको लर्कन

विश्वविख्यात अन्नपूर्ण पदमार्गमा पर्यटकको लर्कन


तिहारको चहलपहल सँगै अन्नपूर्ण चक्रिय पदमार्गमा आन्तरिक तथा बाह्य पर्यटकहरुको उत्साहजनक बृद्धि भइरहेकको छ । सबैभन्दा अग्लो स्थानमा रहेको तिलिचो ताल र थोराङ भञ्ज्याङको यात्राका लागि पर्यटकहरुको आगमनमा बृद्धि भएको हो ।

गत बर्षको तुलनामा यसबर्ष मनाङमा आन्तरिक तथा बाह्य पर्यटकहरुको चापले पदमार्गका होटलहरु भरिभराउ भएका छन् । मनाङमा रहेको तिलिचो ताल, पोंकर ताल र विश्व चर्चित थोराङ भञ्ज्याङको यात्रामा निस्किएका आन्तरिक पर्यटकहरुले पदमार्गको आकर्षण नै बढाएको छ । प्राकृतिक सुन्दरताले भरिपूर्ण मनाङको यात्रामा निस्किएका निस्किएका पर्यटकहरु मनाङसम्म पुग्ने जीप नपाएर लमजुङ सदरमुकाम बेसीशहरमा अलपत्र अवस्थामा पर्ने गरेका छन् ।

मनाङ याताायत ट्रान्सपोर्टका कार्यालय प्रमुख जिवी घिमिरेले दशैपछि मात्रै पदमार्गमा झण्डै १० हजारको हाराहारीमा आन्तरिक पर्यटक पदमार्गमा आएको बताउनुभयो । उहाँका अनुसार दशैंको समयमा मनाङ खण्डमा चल्ने यातायातका साधनहरु कम चलेका कारण पर्यटकहरुले सास्ती खेपेका थिए ।

मनाङको विभिन्न स्थानमा संचालनमा आएका पर्यटकिय होटलहरुलाई भ्याइनभ्याई भएको छ । अफसिजनका कारण केही सुस्ताएको पदमार्गको पर्यटन ब्यवसाय सिजन शुरु भएपछि फस्टाउन थालेको छ । पदमार्गमा बिशेषगरी सेप्टेम्बर, अक्टोबर र नोभेम्बर महिनामा अत्याधिक पर्यटकहरु आउने सिजन भएपनि यसबर्ष अगष्ट महिनादेखि नै मनाङमा पर्यटकहरुको चहलपहल बढेको हो ।

सिजन शुरु भएसँगै दैनिक एकसयको हाराहारीमा मनाङ पुग्ने पर्यटकहरुको संख्या पछिल्लो एक सातामा ह्वात्तै बढेको पर्यटन ब्यवसायीहरु बताउँछन् । मनाङको तिलिचो तालमा पुगेको विदेशी पर्यटकहरुले नेपालमा आफुले निकै रमाइलो स्थान भेटेकोमा खुशी ब्यक्त गरेका छन् ।

अहिले मनाङको ताल, धारापानी, दानाक्यु, बगरछाप, तिमाङ, सदरमुकाम चामे, ढिकुरपोखरी, पिसाङ, हुम्डे, भ्राका, मनाङ, खाङसार, तिलिचो बेशक्याम्प, थोराङ फेदी, नारफु लगायतका स्थानमा रहेका होटलमा पर्यटकहरुको संख्यामा बृद्धि भएको एक्याप मनाङले जनाएको छ । यो सिजनमा मनाङका खर्क अनि घाँसे मैदानहरु हरियो हुने र यहाँ लगाइएको फापर र उवा फुलेको मनोरम दृश्यले पनि पदमार्गमा आउने विदेशी पर्यटकहरुलाई आकर्षित पार्ने गरेको छ ।

पछिल्लो समय पदमार्गमा विदेशी मात्रै होइन् स्वदेशी पर्यटकहरुको लर्कन लागेपछि मनाङ जनता पनि छक्क पर्ने गरेका छन् ।

आफ्नो ठाउँ बनाउन यहाँका वासिन्दाले सबै प्रयास गरेका छन् । बाटो बनाएका छन् । पुल हालेका छन् । प्रकृतिको माया गरेका छन् । होटल खोलेर आगन्तुकलाई आश्रय दिएका छन् । सक्दो सुविधा प्रदान गरेका छन् । सहुलियत दरमा सेवा दिएर पर्यटक बोलाएका छन् । सक्दो प्रचार पनि गरेका छन् । कुनै कसर बाँकी नराखी काम गरेका छन् ।