ठूलो संख्यामा विष्फोटक पदार्थ बरामद !

ठूलो संख्यामा विष्फोटक पदार्थ बरामद !


तिहार नजिकिएसँगै प्रहरीले राजधानीसहित देशभरको शान्ति सुरक्षामा कडाइ गरेको छ । तिहारमा पटका सहितका अन्य विष्फोटक पदार्थको खरिदविक्रि हुन सक्ने भन्दै प्रहरीले आफ्नो निगरानीलाई झन बढाएर लगेको हो ।

यसैक्रममा काठमाडौँ महानगरपालिका–११ सतुंगल चोक बस्ने ३० वर्षीय धन बहादुर तामाङको दुग्ध डेरी पसलबाट प्रहरीले आइतबार ठूलो संख्यामा विष्फोटक पदार्थ बरामद गरेको छ ।

प्रहरीका अनुसार तामाङको डेरीबाट रकेट बम पटाका २० वटा, क्यानसिल बारुद पटाका ७ वटा र गमला बारुद पटाका १० वटा बरामद गरिएको छ । तामाङ्लाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।

यसैगरी काठमाडौं महानगरपालिका–१९ मरुढोकास्थित मोहन ईश्वर पसलबाट सोही ठाउँ बस्ने ५० वर्षीय मोहनकृष्ण शाहीलाई पट्का बिक्री गरिरहेको अवस्थामा बोल्ट पटाका २६ प्याकेट, रकेट पटाका २ सय १५ वटा, ग्राउण्ड चक्कोर पटाका १२ वटा, रोल क्याप ८ प्याकेट र झिरझिरे पटाका १ प्याकेट सहित पक्राउ गरेको छ ।

यसैगरी काठमाडौं चन्द्रागिरी नगरपालिका–७ थानकोट चोक स्थित चन्द्रबहादुर थापाको घडी पसलबाट प्रहरीले आइतबार रकेट पटाका २३ वटा, चक्र पटाका ८६ वटा र माल्टादारम पटाका ४२ वटा बरामद गरेको छ ।

त्यस्तै, ललितपुर महानगरपालिका–१४ थसिखेलस्थित गंगादेवी गुरुङले संचालन गरेको ए.बि.मार्ट पसलबाट प्रहरीले आइतबार कोब्रा पटका ३.५ बन्डल, फ्लावर पटाका ४ पाकेट, ग्राउण्ड पटाका ४ पाकेट, फ्लावर पोष्ट स्पेशल ३ पाकेट, सन फ्लावर पटाका २० पाकेट, मेघा पटाका ४ पाकेट, रकेट पटाका ५ पाकेट, ज्याकर पटाका १० पाकेट र बिज पटाका १० पाकेट बरामद गर्नुका साथै गंगादेबी गुरुङ र उनको श्रीमान ४० वर्षीय भिमलाल गुरुङलाई पक्राउ गरेको छ ।

यसैगरी ललितपुर महानगरपालिका–४ प्रयागपोखरीस्थित कोपिला खनालले संचालन गरेको स्टेशनरी पसलबाट आइतबार चक्र बारुद ४ पाकेट, क्लासिक रोल क्याप १ पाकेट, अशोका झिरझिरे गमला २ पाकेट, र माग लेखेको पटका ५२ पाकेट सहित खनाललाई प्रहरीले पक्राउ गरेको छ ।

यता, सर्लाही कविलासी नगरपालिका–८ स्थित मलंगवाबाट काठमाडौतर्फ जाँदै गरेको ना.५ ख २७७० नम्बरको यात्रु बाहक बसबाट प्रहरीले आइतबार विभिन्न प्रकारका करीब १ लाख रुपैयाँ मूल्य बराबरका बेवारिसे अवस्थामा रहेको पटका बरामद गरेको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यसरी विष्फोटक पदार्थको कारोबार बढ्दा राजधानीसहित देशभरको सुरक्षा चुनौतीपूर्ण बनेको सरोकारवाला बताउँछन् ।