सरकारबाट बाहिरिने माओवादीको संकेत

सरकारबाट बाहिरिने माओवादीको संकेत


अन्तत: माओवादी केन्द्रले, शेरबहादुर देउवा नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिर्दै सरकारबाट बाहिरिने संकेत गरेको छ ।  सो पार्टीका अध्यक्ष प्रचण्डले आज राजधानीमा भएको कार्यक्रममा माओबादी सरकारबाट बाहिरिन लागेको संकेत गरेका हुन् ।

अध्यक्ष प्रचण्डले सरकारमा बस्ने कि छाड्ने भन्ने विषयमा आज निर्णय हुने समेत बताए । पार्टी निकट विद्यार्थी संगठनको पदाधिकारी बैठकलाई सम्बोधन गर्दे प्रचण्डले आज प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेपछि सरकारको बारेमा निर्णयमा पुग्ने बताए ।

‘सुरुमै मैले प्रधानमन्त्रीलाई भनेको थिए, सरकार छाड्ने भएपनि हामी तयार छौँ । उहाँले पर्दैन पर्देन ।’

बामगठबन्धन बनेपछि काँग्रेसभित्र निकै ठूलो तरंग आएको भन्दै प्रचण्डले भने, ‘हामी त नैतिकताका आधारमा सरकारमा बसेको हो । चुनाव गराउने बेलासम्म सरकारलाई दिएको समर्थन कायम राख्ने र मन्त्री फिर्ता नहुँने भनेका थियौँ । तर, अहिले प्रधानमन्त्रीज्यूले राप्रपालाई सरकारमा ल्याएपछि माओवादीले छाडिदिए हुन्थ्यो भन्ने आशय राखेजस्तो पाएको छु । उहाँले चाहेको के हो ? उहाँसँग भेटेर उहाँको कुरा बुझेपछि सरकारबारे निर्णय गर्छौँ’ ।

उनले माओवादीको ध्यान सरकार भन्दा चुनावमा रहेको बताए । तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्न सरकार छोड्न समेत तयार रहेको बताए ।