यस्तो छ, का‌ंग्रेस र लोकतान्त्रिक फोरमबीच भएको सहमति (पूर्ण पाठसहित)

यस्तो छ, का‌ंग्रेस र लोकतान्त्रिक फोरमबीच भएको सहमति (पूर्ण पाठसहित)


मधेशीको माग सम्बोधन गर्न संविधान संशोधनलाई साझा जिम्मेवारीको रुपमा स्वीकार गर्दै नेपाली कांग्रेस र नेपाल लोकतान्त्रिक फोरमबीच पार्टी एकता भएको छ ।

बालुवाटारमा आज आयोजित एक कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदारले एक सहमतिपत्रमा हस्ताक्षर गर्दै नेपालको संविधानको लोकतान्त्रिक जगलाई अझ सुदृढ एवं सर्वस्वीकार्य बनाउनु आफूहरुको कर्तव्य भएको बताएका छन्।

सहमति पत्रको पूर्णपाठः

नेपाली कांग्रेस र नेपाल लोकतान्त्रिक फोरमको एकताको लागि भएको सहमति पत्र

मुलुकको राजनीतिलाई अधिनायकवाद तर्फ धकेल्ने प्रयत्न अहिले भइरहेको स्पष्ट छ। यस परिस्थितिमा नेपालको संविधानको लोकतान्त्रिक जगलाई अझ सुदृढ एवं सर्वस्वीकार्य बनाउनु हामी सबैको कर्तव्य हो। नेपाली कांग्रेस र नेपाल लोकतान्त्रिक फोरम यस कर्तव्यप्रति प्रतिवद्ध रहँदै क्रियाशील रहने संकल्प गर्दछौं। यस परिप्रेक्ष्यमा संविधान निर्माण गर्दा हामी दुई दलहरु समेत बीच भएको १६ बुँदे सहमतिले पनि संविधानलाई थप स्वीकार्य बनाउने आधार प्रदान गरेको कुरा हामी पुनःस्मरण गराउन चाहन्छौं ।

यसै कुरालाई हृदयंगम गर्दै थारु, मधेशी, जनजाति, आदिवासी, महिला, दलित, मुस्लिम र सीमान्तकृत समुदाय लगायतको हक, अधिकार सम्बन्धमा नेपाल लोकतान्त्रिक फोरमले उठाउँदै आएका मुद्दालाई सम्बोधन गर्न नेपाली कांग्रेस सदा झैं प्रतिबद्ध छ। यस प्रतिबद्धतालाई मुर्तरुप दिन हामी दुवै दलहरुले संविधान संशोधनको प्रयास व्यवस्थापिका संसदमा गर्‍यौं। संविधान संशोधन हुन सकेन, आगामी दिनमा यो कार्य सम्पन्न गर्नु हाम्रो साझा जिम्मेदारी हो। लोकतान्त्रिक संस्थाहरुलाई अझ सवल बनाउँदै मुलुकलाई समृद्धि तर्फ अघि बढाउने विषयमा हामी दुवै दलको समान मान्यता रही आएको छ।

साथै, थरुहट र मधेस आन्दोलनको सिलसिलामा गिरफ्तार भएका व्यक्तिहरुको मुद्दा राजीतिक हो भन्ने कांग्रेसले मानी आएको ५। तसर्थ, यस क्रममा बन्दी हुनुभएका निर्दोष नागरिकहरुको मुद्दा फिर्ता गरी रिहाई गर्न सरकारसँग आवश्यक पहल गर्न हामी दुवै दल सहमत छौं।

माथि उल्लेखित आधारमा नेपाली कांग्रेस र नेपाल लोकतान्त्रिक फोरम एक आपसमा एकता गर्न सहमत भएका छौं। एकतापछि नेपाली कांग्रेसको सांगठनिक संरचनामा केन्द्र, प्रदेश, जिल्ला, नगर र गाउँसम्मका नेपाल लोकतान्त्रिक फोरम र यसका भातृ/भगिनी संस्थाहरुको संरचना एवं सदस्यहरुको यथोचित समायोजन गर्न हामी दुवैदल सहमत भएका छौं।

शेरबहादुर देउवा
सभापति, नेपाली कांग्रेस
……

विजयकुमार गच्छदार
नेपाल लोकतान्त्रिक फोरम