तिहार लगत्तै राष्ट्रिय प्रसारण लाइनमा तीन मेगावाट विद्युत थपिने भएको छ । लमजुङको मध्य नेपाल नगरपालिकामा निर्माणाधीन तीन मेगावाट क्षमताको मिदिमखोला (करापु) जलविद्युत आयोजनाले सबै निर्माण कार्य सकिएकोले तिहार लगत्तै विद्युत उत्पादन थाल्ने जनाएको हो । प्रवद्र्धक कम्पनी युनियन हाईड्रोपावरले निर्माण थालेको झण्डै २ बर्षपछि विद्युत उत्पादन गर्न लागेको हो ।
तिहारलगत्तै आन्तरिक तयारी पुरा गरेर विद्युत उत्पादन गर्ने योजनाका साथ आयोजनाका उपकरणहरुको बृहत परीक्षण थालिएको आयोजनाका जनसम्पर्क अधिकृत राजेन्द्र अधिकारीले जानकारी दिए । उनका अनुसार आयोजनामा जडित यन्त्र तथा उपकरणदेखि अन्य भागको परीक्षण क्रमशः भइरहेको छ ।
विद्युत गृहमा जडान गरिएको टर्बाइनमा पानी पठाएर परीक्षण गरिएको आयोजनाका जनसम्पर्क अधिकृत अधिकारीले बताउँछन् । उनका अनुसार दुबै युनिटको परीक्षण सकिएको छ ।
“हामीले आयोजनाको निर्माण कार्य सकिएसँगै यसअघि सुरुङ, पेनस्टक पाइपको परीक्षण गरिसक्यौं ।” उनले भने, “पहिलो चरणमा सुरुङ, पेनस्टक पाइप र सेट्लिङ बेशीन (पानी थिग्रयाउने पोखरी) को परीक्षण सकियो भने दोस्रो चरणमा विद्युत गृहको गरेका हौं ।” उनले दुबै टर्बाइनको परीक्षण पालैपालो गर्ने बताएका छन् ।
आयोजनाले विद्युत गृहको परीक्षण सँगै प्रसारण लाइन निर्माणको कार्य पनि शुरु गरिरहेको छ ।
आयोजनाले कार्तिक १५ गतेभित्रै विद्युत उत्पादन थाल्ने लक्ष्यका साथ विद्युत गृह रहेको स्थान मध्यनेपाल–८ (करापु) पत्तरीबाट भोर्लेटारसम्मको ९ किलोमिटर लामो प्रसारण लाइनको निर्माण कार्य युद्धस्तरमा अघि बढाएको छ । “डेढ किलोमिटर मात्रै तार तान्ने काम बाँकी छ । एक हप्तासम्म प्रसारण लाइन निर्माणको कार्य सक्नेछौं ।” अधिकारी भन्छन्, “छिटोभन्दा छिटो विद्युत उत्पादन गरी प्रसारण लाइनमा पठाउन आतुर भएका छौं ।”
आयोजनाका प्रमुख आवासीय इन्जिनियर दिप बहादुर सिंहले पहिलो चरणको परीक्षणले थप उर्जा मिलेको बताए । उनका अनुसार आयोजनामा ११२१.२४ मिटर लामो भुमिगत सुरुङ, ३४३.५ मिटर पेनस्टक पाइप र १५५.६ मिटर लामो कल्भर्टको निर्माण गरिएको छ । आयोजनासँगको सम्झौतामा नेपाल विद्युत प्राधिकरणले भोर्लेटारमा शवस्टेशन निर्माण गरेर आयोजनाको विद्युत शवस्टेशनमा जोड्ने र ग्रिडमा पठाउने भएपनि अहिलेसम्म त्यसको निर्माण कार्य भने हुन सकेको छैन् ।
आयोजनाका जनसम्पर्क अधिकृत अधिकारीका अनुसार आयोजनाको विद्युतलाई भोर्लेटारबाट नेपाल विद्युत प्राधिकरको ३३ केभी लाइनमार्फत दमौली पठाउने तयारी भइरहेको छ । यसका लागि प्रवद्र्धक कम्पनी र नेविप्राको संयक्त प्रयासमा भोर्लेटार–दमौली प्रसारण लाइनको निर्माण भइरहेको छ ।
प्रवद्र्धक कम्पनी युनियन र प्राधिकरणसँग विद्युत जडान सम्झौता (कनेक्सन एग्रिमेन्ट) मा आयोजना निर्माण सम्पन्न हुनु अगावै भोर्लेटारमा शबस्टेशन निर्माण गर्ने सहमति भएको थियो । तर सो अनुरुपको काम भने हुन सकेन् ।
प्रवद्र्धक कम्पनी युनियन हाईड्रोपावरले ३ मेगावाट विद्युत उत्पादन गर्ने गरी पश्चिम लमजुङको करापु र नाल्मा गाउँको सिमानामा यो आयोजना निर्माण गरेको हो । आयोजनाको शुरुको लागत ५४ करोड रहेपनि इन्धन अभाव, भुकम्प र मजदुर अभावका कारण आयोजनाको समय र लागत दुबै बढेको जनसम्पर्क अधिकृत अधिकारीले बताए । “सुरुङमा कमजोर चट्टान भएका कारण अलि समय लाग्यो ।” अधिकारीले भने, “सुरुङमा धेरै ‘रिप’ हाल्नुपर्ने अवस्था आएकोले पनि हामी ढिला भयौं ।”
प्रतिक्रिया