विना दर्ता सञ्चालित आठ पसल बन्द 

विना दर्ता सञ्चालित आठ पसल बन्द 


भरतपुर चितवनस्थित केन्द्रीय बस टर्मिनल (बसपार्क) क्षेत्रभित्र दर्ता नगरी सञ्चालित आठ पसललाई स्थानीय प्रशासनले बन्द गराएको छ ।

बसपार्क क्षेत्रभित्र भाडामा लिएर सञ्चालित पसल बिना दर्ता सञ्चालनमा थिए । जिल्ला प्रशासन कार्यालयको बजार अनुगमन टोलीले पसल बन्द गराएको हो ।

बसपार्कभित्रका गुरुङ कोल्ड स्टोर्स, लक्ष्मी खाजा घर, सृषा खाजा घर, रोशनी एण्ड रोशन खाजा घर, मनकामना खाजा घर, गुल्मी बागलुङ खाजा घर, लमजुङ प्रोभिजनल स्टोर्स र न्यून सिमरा शुभास स्टाफ होटल बन्द गरिएको बजार अनुगमन अधिकृत ओमनारायण शर्माले जानकारी दिनुभयो ।

पसल सञ्चालकले खानेपानी प्रति बोतल रु २५ लिएर सेवाग्राहीलाई ठगी गर्दै आएको पाइएको छ । सोही क्रममा म्याद नाघेका ठूलो परिमाणमा पेय पदार्थ एवं खाद्य सामग्री पनि नष्ट गरिएको खाद्य निरीक्षक प्रवीणकुमार तिवारीले बताउनुभयो ।

बन्द गरिएका पसललाई भरतपुर महानगरपालिका र आन्तरिक राजस्व कार्यालयमा पसल दर्ता गरेर मात्र सञ्चालन गर्न निर्देशन दिएको शर्माले बताउनुभयो । स्थानीय प्रशासनले आइतबार बसपार्क क्षेत्रका २५ वटा पसलको अनुगमन गरेको थियो ।

बिना दर्ता सञ्चालित विपना मगर होटलले घरेलु र अन्य मदिरा बिक्री गरेको पाइएपछि मदिरा जफत गरिएको छ । त्यस्तै सुर्तीजन्य पदार्थ एवं मदिरा जफत गरी आन्तरिक राजस्व कार्यालय भरतपुर पठाएको शर्माले बताउनुभयो ।

सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थ एवं मदिरा निषेध गरिए पनि बसपार्कमा खुलेआम प्रयोग भइरहेको थियो । प्रहरीको सहयोगमा बसपार्कभित्र सञ्चालित पसलबाट अवैध रुपमा बिक्री गरिएका सुर्तीजन्य पदार्थ बरामद गरिएको उपभोक्ता अधिकार संरक्षण मञ्च चितवनका उपाध्यक्ष विष्णु भुषालले बताउनुभयो ।