दलीय गठबन्धनको तरङ्ग

दलीय गठबन्धनको तरङ्ग


अप्रत्यासित एवम् रहस्यमयी ढङ्गबाट ‘वामशक्ति एकता’को प्रक्रिया सुरु भएपछि मुलुकको राजनीतिक वृत्तमा व्यापक हलचल पैदा भएको छ । खासगरी सत्तासीन नेकपा माओवादी केन्द्र र प्रतिपक्षी नेकपा (एमाले) जस्ता अत्यन्त विपरीत धारमा बगिरहेका दलबीच गठबन्धन र पार्टी एकीकरणसम्मकै प्रक्रिया सुरु भएको घोषणा गरिएबाट राजनीतिक तलाउमा चर्को तरङ्ग पैदा हुनु अस्वाभाविक पनि होइन । यसरी एकाएक देखिएको वाम–गठबन्धन प्रयत्नले मुलुक राजनीतिक रूपले दुई ध्रुवमा विभक्त हुने अवस्थामा पुगेको अनुभूतिसमेत गराएकोे छ । यसलाई सामान्य अवस्थाका रूपमा हेर्न या बुझ्न सकिँदैन ।

एक–अर्कालाई वाम–मित्रशक्तिको रूपमा स्वीकार नगर्ने मात्र नभई दुस्मनकै रूपमा चित्रित गर्न–गराउनसमेत पछि नपर्ने माओवादी केन्द्र र एमालेबीच रातारात किन र कसरी प्रेमको पालुवा पलायो ? यस प्रश्नले यतिबेला सचेत तप्कादेखि आमतहसम्मकै मथिङ्गल तताइदिएको छ । सङ्घीय संसद् र प्रदेश सभाको निर्वाचनकै मुखमा भएको वाम–गठबन्धनलाई चुनावकेन्द्रित मिलाप भनेर विश्लेषण गर्न खोजिए पनि आफूलाई प्रजातान्त्रिक शक्ति ठान्ने नेपाली काङ्ग्रेसलगायत दलहरूलाई ‘एमाले–माओवादी गठबन्धनको अन्तर्य फगत चुनावी स्वार्थमा मात्रै सीमित रहेको ठानेर चुप रहन नमिल्ने’ मनोदशामा पु¥याइदिएको छ । फलतः देशमा यतिबेला वाम र लोकतान्त्रिक ध्रुवीकरणको लहर पैदा भएको छ ।

दलहरूले अवलम्बन गर्ने सामान्य नीति–व्यवहारलाई समेत बाह्य प्रभावको कोणबाट अथ्र्याउने संस्कारले जरा गाडेको परिवेशमा ओली, प्रचण्ड र बाबुरामजस्ता नितान्त फरक कित्तामा उभिएका राजनीतिजीवीबीच हातेमालो भएको अवस्थालाई आममानसको ठूलो हिस्साले विदेशी शक्तिको चलखेलकै रूपमा विश्वास गरेको अवस्था छ । गठबन्धनमा परेका दलहरूको दाबी मान्ने हो भनेचाहिँ वाम–गठबन्धन तथा कम्युनिस्ट पार्टी एकीकरण प्रक्रिया ‘काङ्ग्रेसको मनपरीतन्त्र’को उपज मात्र हो, न कि कुनै बाह्यशक्तिको निर्देशनमा यस्तो सम्भव भएको होस् । अन्तर्यको यथार्थ जेसुकै भए पनि ढिलोचाँडो त्यसको रहस्योद्घाटन हुने नै छ । किनकि, असल या खराब जस्तोसुकै उद्देश्य या नियतबाट अभिप्रेरित भए पनि कर्मको परिणाम सतहमा उजागर हुनु शाश्वत नियम नै हो, परिणाम पर्गेल्ने क्षमताको मात्र दरकार रहन्छ ।

तीन प्रतिशत थ्रेसहोल्डको व्यवस्थाले अत्यासमा पारेपछि साना दलहरूबीच ठूलाको छहारी खोज्ने रोचक प्रतिस्पर्धा यतिबेला जो देखिएको छ, ध्रुवीकृत राजनीतिलाई यसले थप मलजल गरेको छ । वाम–गठबन्धनको हुरीले लोकतान्त्रिक शक्तिहरूबीचको गठजोडलाई प्रेरित गरेको छ । विभिन्न कद–काठीका दलबीच एकीकरण, समायोजन र विलयसम्मका प्रक्रिया देखिँदै छन् । काङ्ग्रेसलाई सत्तोश्राप गर्दै बाहिरिएका विजय गच्छदारहरू बलिन्द्रधारा आँसु चुहाउँदै मातृपार्टी फर्किएको उद्घोष गर्दै छन् । बेमेल चरित्रका लागि चर्चित पात्रहरू एक–अर्काको काँधमा च्युँडो अड्याएर अङ्कमाल गरेका परिदृश्य सार्वजनिक भएका छन् । हिजो धारेहात लगाउनेबीच यतिबेला ‘नमस्कार’ आदानप्रदान चलेको छ भने हिजो एकै थालमा खानेहरू आज पानी बाराबार गर्न उद्यत् हुँदै छन् । एकाएक मौलाएको गठबन्धन–संस्कारले नेपाली राजनीतिमा विचित्र प्रकारको रोमाञ्चकता पैदा गरिदिएको छ ।

जो–जसका कारणले निम्तिएको भए पनि दुई ध्रुवमा विकसित भएझैँ देखिएको राजनीतिक दलहरूको सग्बगाहटले नागरिक तहमा भने प्रकारान्तरले आशाको सञ्चार गराएको छ । बहुदलको स्थापनापछि हालसम्म एउटै सरकारले पनि पूर्ण कार्यकाल व्यतीत गर्न नपाएको, विभिन्न आकारप्रकारका बग्रेल्ती दलहरूकै कारण राजनीतिक अस्थिरता मौलाएको तिक्त यथार्थलाई चिर्न दलीय ध्रुवीकरण सहायक हुने अपेक्षाले यस्तो आशा जगाए पनि सत्तालाई नै सर्वोपरि ठान्ने नेताहरूको चित्त–चरित्र बुझेका सचेत नेपाली तप्का भने ‘कन्फ्युजन’मै छन् । किनकि, अवसर पाएर पनि काम देखाउन नसकेका असफलसिद्ध नेताहरू नै मैदानमा अगाडि परेका छन् भने नितान्त पार्टीगत या व्यक्तिगत स्वार्थसिद्धिका लागि एकपछि अर्कोलाई प्रयोग गर्दै मिल्काउँदै गर्नेमा विज्ञता हासिल नेताको अग्रसरतामा गठबन्धन र एकताको आँधी आएको छ । कुन आकाङ्क्षाले आगो–पानी एक देखिएका हुन् र कहाँनेर कसले कसलाई सल्काउने, बगाउने हुन्– कुनै निश्चितता नभएकाले दलीय ध्रुवीकरणबाट हौसिन खोज्ने नेपालीजनलाई जुनसुकै बेला निराशाको गर्तमा धकेल्न सक्छ । फगत चुनाव जित्नका लागि दलीय मिलनको लहर पैदा भएको साबित नहोस्, अहिलेलाई यत्ति कामना नै काफी हुनेछ ।