आईएमई लिमिटेड र वाइजम्यान इम्पेक्स सर्भिस इन्टरप्राइजेजले संयुक्त रूपमा इन्डो–नेपाल रेमिट्यान्स सेवा प्रारम्भ गरेका छन् । सम्झौताअनुसार भारतमा रहेका हरेक नेपाली नागरिकले वाइजम्यानका दुई सय शाखासहित १४ हजारभन्दा बढी एजेन्ट पार्टनरमार्फत नेपालमा पैसा पठाउन सक्नेछन् । यसरी पठाइएको रकम नेपालस्थित आईएमईका ६ हजारभन्दा बढी एजेन्ट आउटलेटबाट भुक्तानी लिन सकिने जनाइएको छ । यी दुईबीचको रेमिट्यान्स सेवाका लागि नेपालस्थित ग्लोबल आईएमई बैंक लि. र भारतस्थित आरबीएल बैंकले सहजीकरण गर्नेछन् ।
सेवा शुभारम्भको अवसरमा सङ्क्षिप्त मन्तव्य दिँदै आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले आईएमई र वाइजम्यानको सहकार्यपछि भारतमा रहेका लाखौँ नेपालीलाई सहजै नेपाल पैसा पठाउने ढोका खुला भएको बताए । अध्यक्ष ढकालले इन्डो–नेपाल रेमिट्यान्स सेवामा यो सम्झौताले थप विविधता ल्याउने विश्वास पनि व्यक्त गरे ।
भारत (मुम्बई)मा आयोजित सम्झौता कार्यक्रमलाई सम्बोधन गर्दै वाइजम्यानका व्यापार प्रवद्र्धन प्रमुख सन्दीप शर्माले ‘वाइजम्यानले विश्वमा छरिएर रहेका २ करोड ५० लाख नागरिकले पठाएको रकम भारतमा रहेका तिनका आफन्तलाई सहज तरिकाले वितरण गर्दै आइरहेको र नेपालको पहिलो र ठूलो रेमिट्यान्स कम्पनी आईएमईसँगको सम्झौतापछि भारतमा रहेका करिब ५० लाख नेपालीले आर्जन गरेको धन नेपालमा रहेका घर–परिवार तथा आफन्तलाई भुक्तान गर्न सहज हुने विश्वास व्यक्त गरे ।
प्रतिक्रिया