नारायणकाजीलाई हराउन ‘रूख चढे’ बाबुराम !

नारायणकाजीलाई हराउन ‘रूख चढे’ बाबुराम !


कम्युनिस्ट गठबन्धनमा अचानक झ्यालबाट छिरेर सामेल भएका नयाँ शक्ति नेपालका नेता डा. बाबुराम भट्टराई मागेबमोजिमको भाग नपाएपछि वाम गठबन्धनबाट बाहिरिएर काङ्ग्रेससँग गाँसिन पुगेका छन् । भट्टराई सूर्य चिह्न लिएर निर्वाचनमा सहभागी हुन तयार भएका थिए, तर उनलाई एमालेले आफ्नो कोटा (६० प्रतिशत) मा पारेर उम्मेदवार बनाउन चाहेन । गठबन्धनमा सामेल भएपछि माओवादीले आफ्ना लागि गोरखाको क्षेत्र नं. २ खाली गरिदिने विश्वास उनले गरेका थिए, तर माओवादी पनि उनका लागि मैदान खाली गरिदिन तयार भएन । माओवादीले गोरखा दुई नम्बर क्षेत्रबाट नेता नारायणकाजी श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय पहिले नै गरिसकेको छ, जुन निर्णयबाट पछि हट्ने पक्षमा माओवादी रहेन । यसरी दुवै कम्युनिस्ट पार्टी आफूप्रति अनुदार देखिएपछि बाबुराम भट्टराई निराश भए र उनले अपमानित महसुस गरे । आफ्नो केही नचल्ने स्थिति बनेकोले अन्ततः बाबुराम वाम गठबन्धनबाट बाहिरिएका हुन् ।

गोरखा–२ बाट उम्मेदवारी दिए पनि आँखा चिह्न लिएर त्यहाँ बाबुराम भट्टराईले चुनाव जित्न सक्ने स्थिति देखिएन । त्यसैले उनी अन्ततः रूख चिह्न लिएर चुनाव लड्ने निष्कर्षमा पुगेको बताइन्छ । चुनाव जित्नका लागि भन्दा पनि नेता नारायणकाजी श्रेष्ठलाई पराजित गराउन र आफ्नो ‘मान राख्न’का लागि मात्र डा. भट्टराईले उम्मेदवारी दिन लागेको विश्वास गरिएको छ । सम्भवतः बाबुरामले श्रेष्ठलाई पराजित गर्न सक्नुलाई नै आफ्नो विजय ठान्नेछन् ।