कम्युनिस्ट नेताहरूलाई चुनाव रोकिने चिन्ता !

कम्युनिस्ट नेताहरूलाई चुनाव रोकिने चिन्ता !


सबलाई उपयोग गर्दै अन्ततः फासीवादी कम्युनिस्ट अधिनायकवाद स्थापना गर्ने उद्देश्यले कम्युनिस्ट वामपन्थीहरूबीच एकीकरण प्रक्रिया सुरु भएको होइन भने नेपालमा अब दुईदलीय राजनीतिक अभ्यासको सम्भावना बढेको छ । नेकपा एमाले र माओवादीबीच ‘समाजवाद’ स्थापना गर्ने घोषणाका साथ एकीकृत कम्युनिस्ट वामपन्थी पार्टी निर्माणको प्रक्रिया सुरु भएपछि नेपाली काङ्ग्रेसको नेतृत्वमा प्रजातान्त्रिक शक्तिहरू एकताबद्ध हुने क्रमारम्भ भएको छ ।

साताभित्रै विजय गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरम र कुमार खड्का नेतृत्वको अखण्ड नेपाल पार्टी नेपाली काङ्ग्रेसमा समाहित भइसकेका छन् । अन्य प्रजातान्त्रिक पार्टीहरूलाई पनि काङ्ग्रेसमा समेट्न पहल भइरहेको छ । एक समयका माओवादी नेता डा. बाबुराम भट्टराई काङ्ग्रेसको चुनाव चिह्न (रूख) लिएर निर्वाचनमा सहभागी हुन सहमत भएका छन् । ज्ञातव्य छ, जसले जुन पार्टीको चुनाव चिह्न लिएर निर्वाचनमा विजय हासिल गर्छ, उसलाई सोही पार्टीको ह्विप लाग्ने गर्दछ । त्यसैले निर्वाचनमा विजयी बनेमा बाबुराम भट्टराईले काङ्ग्रेसको नीति निर्णयलाई ‘फलो’ गरेर हिँड्नुपर्ने हुन्छ ।

बाबुरामको पछिल्लो निर्णयले गोरखास्थित उनको निर्वाचन क्षेत्रमा दुईपक्षीय प्रतिस्पर्धालाई उच्च बनाएको छ । नेपाली काङ्ग्रेसमा अन्य दलबाट समाहित हुन आउनेहरूको तीव्रता बढेको छ र निर्वाचनसम्म यो क्रम निकै बढ्ने देखिएको छ । त्यस्तै, नेकपा एमाले र माओवादीबीचको ‘एकता’पश्चात् नेकपा संयुक्त माओवादीमा समाहित भएको छ । वामपन्थी रुझानका कैयन नेतास्तरका व्यक्तिहरूको कम्युनिस्ट पार्टीमा समाहित हुने क्रम बढ्दो छ । काङ्ग्रेस र कम्युनिस्ट पार्टीमा तीव्र हुँदै गएको धु्रवीकरणलाई सकारात्मक रूपमा हेर्दा यसले दुई पार्टी प्रणालीको अभ्यासमा मुलुकलाई अघि बढाउने देखिएको छ । तर, एमाले र माओवादीले ६बुँदे सहमतिपत्रमा ‘समाजवाद’ स्थापनालाई अबको अभीष्ट बनाउने प्रतिबद्धता जाहेर गरेको, सङ्घीयता, गणतन्त्र र धर्मनिरपेक्षतासहितको वर्तमान अवस्थामा नेपाललाई पु¥याउन एमाले र माओवादीको नीतिगत तथा व्यावहारिक नेतृत्व रहेको बताएर काङ्ग्रेसलगायतका दललाई आफूहरूले उपयोग मात्र गरेको भन्ने स्पष्ट सङ्केत दिएकोले कम्युनिस्ट एकीकरण प्रजातन्त्र सुदृढीकरणको लागि हो या साँच्चै चिनियाँ मोडलको ‘समाजवादी’ व्यवस्था स्थापनाको लागि हो भन्ने प्रश्न र शङ्का जन्माएको छ ।

एमाले र माओवादीले तयार गरेकोे संयुक्त चुनावी घोषणापत्रमा उल्लिखित व्यहोराले पनि थप शङ्का गर्नुपर्ने स्थिति पैदा गरेको छ । घोषणापत्रमा आफूहरूबाहेक अन्य सबै पार्टी सामन्ती, पुँजीपति र विदेशी दलालको प्रतिनिधि भएकोजस्ता व्यहोरा उल्लेख गरेर उनीहरूले काङ्ग्रेसलगायत अन्य दलहरूप्रति असहिष्णु बन्ने र शक्ति आर्जन भएपछि उनीहरूलाई निषेध गर्दै जाने सङ्केत दिएका छन् । यसरी कम्युनिस्ट पार्टीहरूको दस्तावेज र नेताहरूको अभिव्यक्तिलाई हेर्ने हो भने आगामी निर्वाचनमा कम्युनिस्ट पार्टी विजयी भएमा नेपालबाट साम्यवादी भाषामा पुँजीवादी भनिने वर्तमान प्रजातन्त्र विस्थापित हुन सक्ने देखिन्छ । कम्युनिस्ट पार्टीले दुईतिहाइ बहुमतको दाबी गरेको छ, तर चुनावी स्थितिको सतही अध्ययन गर्दा उनीहरूले स्पष्ट बहुमतसम्म हासिल गर्न सक्ने देखिएको छ ।

सम्बद्ध सूत्रबाट प्राप्त जानकारीअनुसार नेकपा एमाले एक्लै सत्तरी स्थानमा विजयी बन्ने र माओवादीसँग एकता भएपछि एमालेतर्फ थप पन्ध्र सिट सुरक्षित भई प्रत्यक्षतर्फ एमाले एक्लैले पचासी (८५) स्थानमा विजय प्राप्त गर्ने विश्लेषण एमाले नेतृत्वको छ । माओवादीले भने आफूहरू पन्ध्रदेखि बीस स्थानमा विजयी बन्न सक्ने अनुमान गरेको छ । उता नेपाली काङ्ग्रेसभित्र भने आफ्नो स्थितिलाई देखेर नेताहरू नै निराश बन्न पुगेका छन् । विश्लेषकहरूले प्रत्यक्षतर्फ नेपाली काङ्ग्रेसले बढीमा चालीस स्थानसम्म हासिल गर्ने अनुमान गरेका छन् । राजपा, सङ्घीय फोरम र काङ्ग्रेससहितको गठबन्धनले सत्तरी ‘सिट’ पु¥याउने विश्वास अहिलेसम्म गरिएको छैन । यही स्थितिलाई बुझेर कम्युनिस्ट नेताहरू हरहालतमा निर्वाचन गराइछाड्ने र शेरबहादुर नेतृत्वको सरकारले लिने चुनाव सार्नेबाहेकको कुनै पनि निर्णयलाई लिएर ‘प्रतिरोधी व्यवहार’ नगर्ने सोच बनाएर बसेका छन् ।

काङ्ग्रेसको नराम्रो पराजय हुने सम्भावनालाई देखेर कुनै निहुँमा चुनाव रोकिने या सारिने हो कि भन्ने चिन्ता कम्युनिस्ट नेताहरूमा रहेको छ । कम्युनिस्ट ‘एकता’बाट भारत ‘भड्किएको’ हुन सक्ने अनुमान माओवादी र एमालेका नेताहरूले गरेका छन् । ‘भारतले के गर्ला’ भन्ने व्यापक चासो कम्युनिस्ट नेताहरूमा पाइएको छ । ‘कम्युनिस्टले जित्ने चुनाव’ नगराइने हो कि भन्ने त्रासका कारण एमाले र माओवादी नेताहरू अलिक बढी नै सचेत भएका छन् । जुन कला प्रयोग गरेर भए पनि चुनावसम्म देउवालाई पुऱ्याउने र जे–जे गर्नुपर्छ चुनावपछि गर्ने भन्ने सोच उनीहरूले बनाएका छन् । अहिलेसम्म चुनाव सर्ने या रोकिने घटनाको विकास नभएकोले घोषित मितिमै निर्वाचन सम्पन्न हुने विश्वास सर्वत्र गरिएको छ ।