एउटै मञ्चमा शीर्ष नेताहरुको जमघट गराउने तयारी

एउटै मञ्चमा शीर्ष नेताहरुको जमघट गराउने तयारी


आज शिर्ष नेताहरु एउटै मञ्चमा ‘जमघट’ हुने भएका छन् । पछिल्लो समय गठबन्धनका कारण दलहरुबीच सम्बन्ध चिस्सिएको बेला उपराष्ट्रपति नन्दबहादुर पुन पासाङले तिनै शिर्ष नेताहरुलाई आज एकै मञ्चमा ‘जमघट’ गराउन लागेका हुन ।

उपराष्ट्रपतिले शुभ दिपावली, छठ–२०७४ एवम् नेपाल संवत् ११३८ को अवसरमा आज जलपान समारोहको आयोजना गरेका छन् ।

अपरान्ह ३ बजे उपराष्ट्रपति भवनको प्राङ्गणमा सुरुहुने समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमाले अध्यक्ष केपी ओली, प्रधानन्यायधीश लगायत उच्च पदाधिकारीहरु सहभागी हुनेछन् ।

यस्तै पूर्व प्रधानमन्त्रीहरु, उपप्रधानमन्त्री, मन्त्री, राजनीतिक दलका नेताहरु, संवैधानिक अंगका प्रमुखहरु, कुटनीतिक नियोगका प्रतिनिधि, सरकारका उच्च पदाधिकारीलगायत विशिष्ट व्यक्तित्वहरुको पनि समारोहमा उपस्थिति रहने उपराष्ट्रपतिको कार्यालयले जानकारी गराएको छ ।

यसले पछिल्लो समय दलहरुबीचको बढ्दो चिसोपनालाई कम गर्न सहयोग पु-याउने आकलन गर्न सकिन्छ ।