मालेबाट निकालिए चार नेता

मालेबाट निकालिए चार नेता


सीपी मैनाली नेतृत्वको नेकपा (माले) बाट तीन जना पोलिटब्युरो सदस्य निष्कासनमा परेका छन् । पोलिटब्युरो सदस्यहरु हिक्मतबहादुर देउवा, गङ्गाप्रसाद चौधरी र वीरेन्द्र थपलियाका साथमा केन्द्रीय सदस्य सीता महत देउवा निष्कासनमा परेका हुन् ।

पार्टीको एकताविपरीत गुटबन्दी र फुटपरस्त गतिविधिमा सक्रिय रहेको भन्दै उनीहरुलाई पार्टी सदस्यसमेतबाट निष्कासन गरिएको सो पार्टीले जनाएको छ । पार्टीका महासचिव सिपी मैनालीको अध्यक्षतामा हिजो मंगलबार बसेको बैठकले उनीहरुलाई पार्टी विधानको धारा १, २, ३, ४ र ५ बमोजिम कारबाही गर्दै पार्टीका सबै जिम्मेवारीबाट पदच्यूत गरी पार्टी सदस्यताबाट समेत निष्कासित गरिएको महासचिव मैनालीले जनाएका छन् ।

मैनालीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “पार्टी अस्तित्व नरुचाउने परचक्रीले चलाएको निराधार र कपोलकल्पित हल्लामा नलाग्न समस्त पार्टी पंक्तिलाई आह्वान् गर्दछ ।” महासचिव मैनालीले आशन्न निर्वाचनमा हाल अन्य कुनै दलसँग सहकार्य र एकीकरणसम्बन्धी निर्णय भइनसकेको सन्दर्भमा आफखुशी अन्य पार्टीसँग वार्ता गरी पार्टी फुटाउने गतिविधि गरेको आशंकामा उनीहरुलाई निष्कासन गरिएको जानकारी दिए ।