प्रधानमन्त्री शेरबहादुर देउवा नै निर्वाचन सार्न र रोक्न लागिपरेको भनी माओवादी केन्द्रका नेताहरुले आरोप लगाउन थालेपछि कांग्रेस पार्टीभित्र देउवाका खास निकट मानिएका नेताहरु सभापति देउवाको प्रतिरक्षामा उत्रिएका छन् । सार्वजनिक मञ्च फेलापर्यो कि तोकिएकै मितिमा निर्वाचन गराउन प्रधानमन्त्री देउवा प्रतिबद्ध रहनुभएको दाबी गर्न ती नेताहरु चुक्दैनन् ।
यसै क्रममा वाणिज्यमन्त्री मीनबहादुर विश्वकर्माले सरकारले कुनै पनि हालतमा प्रदेश र प्रतिनिधिसभाको निर्वाचन गराइछाड्ने दाबी गरेका छन् । राजधानीमा आयोजित एक साक्षात्कार कार्यक्रममा मन्त्री विश्वकर्माले मुलुक निर्वाचनतर्फ होम्मिएको चर्चा गर्दै तोकिएकै समयमा निर्वाचन हुनेमा जोड दिए । उनले स्थानीय तहको निर्वाचनमा कांग्रेससँग सहकार्य गरेर फाइदा लिएको (माओवादी केन्द्र)ले प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा कांग्रेससँग सहकार्य गरेर फाइदा लिन गाह्रो देखेर एमालेसँग गठबन्धन गर्न लागेको आरोप लगाए । माओवादी केन्द्रका नेताहरुले कांग्रेसलाई धोका दिएको मन्त्री बिश्वकर्माको परोक्ष अभिव्यक्ति थियो ।
सोही साक्षात्कारमा शहरी विकासमन्त्री दीलनाथ गिरीले निर्वाचनको सुनिश्चितताका लागि आफूहरु सरकारमा सहभागी भएको तर्क गर्दै मंसिरमा निर्वाचन हुन सक्दैन भनेर विपक्षी दलहरूले जनतामाझ अतिरञ्जित कुरा गरेको आरोप लगाए ।
प्रतिक्रिया