‘समानुपातिक सूची’ले निम्त्यायो राजपामा असन्तुष्टि, चन्दा र निर्जलाको बेग्लै चर्चा

‘समानुपातिक सूची’ले निम्त्यायो राजपामा असन्तुष्टि, चन्दा र निर्जलाको बेग्लै चर्चा


राष्ट्रिय जनता पार्टी नेपालले समानुपातिक निर्वाचन प्रणालीका लागि निर्वाचन आयोगमा बुझाएको नामावली सुचीप्रति असन्तुष्टि जनाउँदै युवा नेता÷कार्यकताहरू केन्द्रीय कार्यालयमा धर्ना बसेका छन् ।

समानुपातिक सुचीमा नेतृत्वपंक्तिको विभेदकारी नीति रहेको आरोप लगाउँदै पोर्टफोलियोअनुसार नाम सच्याउनुपर्ने, यसअघि लाभका पदमा गइसकेकाहरूको नाम हटाउनुपर्ने, नामै नसुनेका र पार्टीका साधारण सदस्यसमेत नरहेका व्यक्तिहरूको नाम सूचीबाट हटाउनुपर्ने उनीहरूको माग छ ।

युवा नेता–कार्यकर्ताहरूले आज बुधबारदेखि धर्ना कार्यक्रम सुरु गरेका हुन् । नेतृत्वपंक्तिले आफ्नो निर्णय नसच्याए आगामी आइतबारदेखि अन्य विरोधका कार्यक्रम पनि सार्वजनिक गर्ने राजपा नेता केशव झाले बताए ।

चन्दा र निर्जलाको चर्चा
राजपाको समानुपातिक सुचीमा पूर्वसभासद तथा तत्कालीन रामसपा हुँदै वरिष्ठ नेताको उपाधि पाएकी निर्जला राउतको नाम तल र तत्कालीन तमलोपा हँुदै अहिले राजपा महासचिव रहेकी चन्दा चौधरीको नाम नामावली क्रममा माथि राखिएका कारण केशव झाको नेतृत्वमा धर्ना कार्यक्रम भइरहेको एक नेताले खुलासा गरेका छन् ।

घटना र विचारसँगको कुराकानीमा नाम उल्लेख नगर्ने शर्तमा उक्त नेताले भने– ‘कहाँ चन्दा र कहाँ निर्जला, उनीहरूबीच तुलना हुन सक्दैन । यो धारणा नौटङ्की मात्र हो, अध्यक्षमण्डलले निकै गहिरो छलफल गरेर उक्त सुची तयार पारेका हुन, त्यसमा कुनै हेरफेर हुँदैन ।’

‘जिल्लामा आफ्ना वडासम्म जिताउन नसक्ने केशवजीले यहाँ आफूलाई राष्ट्रिय नेता दाबी गर्छन्, उनले आफ्नो नाम पनि एक नम्बरमा हुनुपर्ने माग गरिरहेका छन्, यो नौटंकी नभएर के हो त ?’ उनले भने, ‘निर्जलाको नाम त झन् हटाउनु पर्नेमा पर्छ, तर समुदायका हिसाबले खस–क्षेत्री महिलासमेत रहेकी कारण उनको नाम राखिएको हो, तर यस्तै गतिबिधि रहे नाम माथि होइन कि पुरै हटाइने छ ।’

मधेस आन्दोलनमा अत्यन्त सक्रिय भूमिका निर्वाह गरेको, महिलाहरुको आर्थिक विकास गरी स्वनिर्भर तुल्याउन हिमाल, पहाड, तराई नछुट्याई काम गर्नुका साथै समाजसेवाका विविध आयाममा अग्रणी तथा उल्लेख्य भूमिका निर्वाह गरेकोले अध्यक्ष मण्डलले उनको नाम निर्विकल्प हुने गरी समानुपातिकतर्फ महिलामा पहिलो स्थानमा सिफारिस गरेको बताइएको छ । यसबाट चन्दाको योगदानमाथि पार्टीले न्याय गरेको राजपा कार्यकर्ताहरुले महसुस गरेका एक राजपा नेताले बताए ।

श्रोतका अनुसार राजपाका केशव झा, निर्जला राउत, रामनरेश राय यादव, बीपी यादव, लगायतको नाम नामावलीमा माथि हुनुपर्ने मनसायले धर्ना कार्यक्रम सुरु भएको हो । तर राजपा नेतृत्वले भने यसअघि सांसद भइसकेकाहरूलाई पहिलो, दोस्रो प्रथमिकतामा राख्दै पार्टीलाई चौतर्फी रुपबाट सहयोग हुनसक्ने नामहरुलाई माथि नाम राख्ने निर्णय गरेका थियो ।

राजपाले प्रतिनिधिसभाका लागि समानुपातिकको बन्द सूचीको एक नम्बरमा महन्थ ठाकुरको नाम राखेको छ । ठाकु्रको मधेशीअन्तर्गतको ‘ब्राह्मण’बाट नाम राखिएको हो । त्यस्तै, दोस्रोमा चन्दा चौधरीको नाम राखिएको छ । चोधरी महोत्तरीमा धेरै सिट जिताउन सफल भएकी र वैश्य समुदायकी मधेशी महिला भएका कारण पनि उनको नाम दोस्रो नम्बरमा (महिलामा पहिलो) नाम राखिएको हो । त्यस्तै, तेस्रो नम्बरमा अहमद अकवाल मुसलमानबाट, चौथोमा नरमया ढकालको नाम महिला र खसक्षेत्रीबाट राखिएको छ । त्यस्तै, पाँचौं नम्बरमा पुर्वसांसद निर्जला राउतको नाम महिला–खसक्षेत्रीबाट राखिएको बताइएको छ भने छैठौं नम्बरमा पुर्वसांसद रामनरेशराय यादवको नाम मधेशीबाट राखिएको छ ।

संविधानले तोकेको व्यवस्थाअनुसार सबै उम्मेदवारमध्येको ५० प्रतिशत महिला, २८ प्रतिशत खसक्षेत्री, त्यसपछि मधेसी, मुस्लिम, अल्पसङ्ख्यक, दलित, आदिवासी–जनजाति अनिवार्य हुनुपर्छ । सोही व्यवस्थाअनुसार राजपाले नामको सूची तयार गरेको उक्त पार्टीसुत्रले जनाएको छ ।