‘विश्वास’को कर्ममाथि राजदूतको निर्लज्ज दाबी

‘विश्वास’को कर्ममाथि राजदूतको निर्लज्ज दाबी


विश्वास श्रेष्ठ मेडिकल डाक्टर हुन् र उनले मेडिकल विषयमै पीएचडी गरेका छन् । चीनलाई केन्द्रभूमि बनाएर उनी विभिन्न सामाजिक तथा व्यावसायिक कार्यमा संलग्न छन् । चीनको प्राज्ञिक तथा अन्य उच्च तहमा राम्रो पहुँच भएका डा. विश्वासले हुनानको चाङ्सास्थित सेन्ट्रल साउथ युनिभर्सिटीसँग कुरा गरी नेपाली नर्सहरूलाई छात्रवृत्ति दिन सहमत गराए । दुईवर्षे अध्ययनका लागि प्रतिवर्ष न्यूनतम २५ नेपाली नर्सहरूलाई उक्त विश्वविद्यालयमा छात्रवृत्ति उपलब्ध गराउन पाँचवर्षे सम्झौताको प्रक्रिया डा. विश्वासले अघि बढाएका थिए । तात्कालिक स्वास्थ्यमन्त्री गगन थापासँग समन्वय गरी विश्वास श्रेष्ठले उक्त कार्य अघि बढाएका थिए ।

तर, त्यसैबीच सरकार परिवर्तन भयो, र त्यसपछि स्वास्थ्य मन्त्रालयका अधिकारीले विश्वासलाई बेइजिङस्थित नेपाली दूतावाससँग समन्वय गर्न भन्यो । सीधै स्वास्थ्य मन्त्रालयसँग सम्झौता गर्न खोज्दा मन्त्रालयका अधिकारीले नै राजदूतावासमा सम्पर्क गर्न भनेपछि बेइजिङस्थित राजदूत लीलामणि पौड्यालको रोहवरमा विश्वविद्यालयसँग सम्झौता भएको थियो ।

विश्वासको अग्रसरतामा भएको उक्त सम्झौताबमोजिम यो वर्ष ३२ जना नर्सलाई छात्रवृत्ति उपलब्ध गराइएको छ । ती विद्यार्थीलाई विश्वविद्यालयले खाना र बासको व्यवस्था मिलाउनेछ । त्यसबाहेक प्रतिमहिना प्रतिव्यक्ति तीन हजार चिनियाँ मुद्रा (करिब पचास हजार रुपैयाँ) पनि विद्यार्थीलाई विश्वविद्यालयले उपलब्ध गराउनेछ । वर्षमा एकपटक घर आउने–जाने खर्च पनि विश्वविद्यालयले नै व्यवस्था गर्ने बताइएको छ ।

यसरी विश्वास श्रेष्ठले आफ्नो सामथ्र्यमा देशका लागि गरेको कामको जस (यश) भने लीलामणि पौड्यालले लिने प्रयास गरेका छन् । पौड्यालले आफ्नो कार्यकालमा गरेको महान् कामका रूपमा यसलाई सुनाउने गरेका छन्, जब कि एकपटक सम्झौतामा साक्षी बस्नेबाहेक उनको आफ्नै कुनै योगदान थिएन । लीलामणिको व्यवहार देखेपछि देख्नेहरूले ‘काम गर्ने कालु मकै खाने भालु’ भन्ने उक्तिको चरितार्थ भएको टिप्पणी गरेका छन् ।