नेतृत्वको ‘अभाव पूर्ति गर्न’ आरजु राणा कैलालीबाट लड्दै

नेतृत्वको ‘अभाव पूर्ति गर्न’ आरजु राणा कैलालीबाट लड्दै


शेरबहादुर देउवाकी पत्नीसमेत रहेकी नेपाली काङ्ग्रेसकी नेतृ डा. आरजु राणा यसपटक प्रत्यक्षतर्फ प्रतिनिधिसभाको उम्मेदवार बन्ने भएकी छिन् । उनको लागि सबैभन्दा सुरक्षित क्षेत्र खोजी गर्दा कैलालीको ५ नम्बर निर्वाचन क्षेत्र उपयुक्त ठानिएको छ । यसअघि समानुपातिकतर्फ सांसद रहेकी आरजुले काङ्ग्रेस पार्टीमा दोस्रो–तेस्रो तहका नेताबाट पार्टी र देश चल्न नसक्ने देखेपछि प्रत्यक्षतर्फ निर्वाचन लडेर ‘नेता’ बन्ने निर्णय लिएको बताइन्छ । देउवापछि काङ्ग्रेस ‘हाँक्न’ सक्ने नेताको अभाव पूर्ति गर्न आरजु अघि बढ्नुपरेको उनका निकटवर्तीहरूको भनाइ छ ।

यसअघि आरजु राणा बर्दियाबाट चुनाव लड्ने भएकी थिइन् । बर्दियाका काङ्ग्रेस सभापतिलाई उनले आफ्नो विश्वासमा लिइसकेकी थिइन् भने राप्रपाबाट बर्दियामा चुनाव लड्दै आएकी आफ्नी माता प्रतिभा राणालाई जापानको लागि राजदूत बनाएर ‘ठाउँ सुरक्षित गरेकी’ थिइन् । तर, निर्वाचन क्षेत्र निर्धारण आयोगका सदस्यले आरजु र शेरबहादुर देउवाको इच्छा पूरा नगरिदिएपछि आरजु विकल्प खोज्न बाध्य भएकी हुन् । देउवा र उनकी पत्नीको इच्छा थियो– ‘बर्दियामा कम्तीमा तीनवटा निर्वाचन क्षेत्र बनोस् ।’ दुईवटा मात्र निर्वाचन क्षेत्र हुँदा स्थानीय नेताहरूलाई सन्तुलन र विश्वासमा राख्न मुस्किल पर्ने तथा ठूला निर्वाचन क्षेत्रमा दौडधुप गर्दा नेतृ आरजु राणालाई कष्ट हुने भएकोले तीनवटा निर्वाचन क्षेत्र बनाउन प्रधानमन्त्री देउवा र नेतृ राणाले आयोगका केही सदस्यहरूलाई पटक–पटक दबाब दिएका थिए । तर, आयोगका सदस्यहरू पद छोड्न तयार भए, बर्दियामा तीन निर्वाचन क्षेत्र बनाउन तयार भएनन् । त्यसैले कैलाली ५ नम्बर क्षेत्रलाई आफ्नो बनाउन आरजु राणाले निकै कोसिस गरेकी छिन् ।

त्यस क्षेत्रका नेता पुष्करनाथ ओझालाई चार नम्बर क्षेत्रमा उम्मेदवार बनाउने तयारी भएको छ । यद्यपि पुष्करसहित त्यहाँका स्थानीय नेताहरू असन्तुष्ट बन्न पुगेका छन् । अब जोसुकै व्यक्ति असन्तुष्ट भए पनि कैलाली ५ मा आरजु उम्मेदवार बन्ने निश्चित भइसकेको छ । त्यस क्षेत्रको थारू भोट आफ्नो बनाउन विजय गच्छदारलाई पार्टीमा समेटिएको मात्र छैन, ५ मध्ये दुई निर्वाचन क्षेत्रमा गच्छदारकै सिफारिसका मानिसलाई टिकट दिइने भएको छ । तर, त्यस क्षेत्रका लोकप्रिय व्यक्ति गोपी हमाल काङ्ग्रेसबाट बाहिरिएको र उनलाई विवेकशील–साझा नामक पार्टीले उम्मेदवार बनाउने सम्भावना भएकोले त्यसलाई रोक्न विभिन्न प्रयास भइरहेको बताइन्छ ।