मिनेन्द्रले गराए ३ सयलाई कांग्रेसमा प्रवेश

मिनेन्द्रले गराए ३ सयलाई कांग्रेसमा प्रवेश


नेपाली काँग्रेसका नेता तथा संसदीय वोर्डका सदस्य डा. मिनेन्द्र रिजालले एमाले, माओवादी र फोरमका ३ सय नेता तथा कार्यकर्तालाई कांग्रेसमा प्रवेश गराएका छन् । मंसिर १० र २१ गते प्रतिनिधि सभा र प्रदेश सभाको चुनावको मिति नजिकिदै गर्दा मिनेन्द्रले पार्टी प्रवेश गराएका हुन् ।

डा. रिजाल मोरङ २ बाट चुनाव उठ्ने भएपछि त्यस क्षेत्रमा काँग्रेस कार्यकर्तासँगै अन्य पार्टीका नेता कार्यकर्ताहरु पनि उत्साहित भएको बताइएको छ । संसदीय वोर्डमा मनोनित भएपछि पहिलोपटक मोरङ पुगेका रिजाललाई कार्यकर्ताहरुले विराटनगर एयरपोर्टदेखि नै भव्य स्वागत गरेका थिए ।

सो स्वागत अझ भव्य त्यतिखेर भयो जतिखेर एमाले, माओवादी, संघीय फोरम, राजपा र राप्रपाका करिव ३ सय नेता कार्यकर्तालाई नेता रिजालले स्वागत गर्दै पार्टी प्रवेश गराएको प्रेस युनियन मोरङका अध्यक्ष मिनकुमार नवोदितले बताए ।

नेपाली काँग्रेसका तत्कालिन सभापति गिरिजाप्रसाद कोइरालाको राजनीतिक उत्तराधिकारीको रुपमा सोहि क्षेत्रबाट चुनाव उठ्न लागेका रिजाललाई सो क्षेत्रमा स्थानियको पनि अपार समर्थन रहेको बताइएको छ ।

रिजालले संघीय फोरमका राष्टिय सल्लाहकार अरुण शर्मा, राजपा मोरङ २ को क्षेत्रीय अध्यक्ष राजकुमार राजवंशी, राप्रपाका जिल्ला सदस्य अनवर मियाँ, एमाले डाइनियाँ गाउँपालिकाको सदस्य धिरेन्द्र साह र माओवादीका क्षेत्रीय उपाध्यक्ष फजुल मियाँ लगायत नेता तथा कार्यकर्तालाई कांग्रेसमा प्रवेश गराएका छन् ।