स्थानीयकै श्रम र लगानीमा गाउँमा विजुली

स्थानीयकै श्रम र लगानीमा गाउँमा विजुली


स्थानीयको श्रमदान र लगानीमा पाल्पाको माथागढी गाउँपालिका गोठादीमा विद्युत् विस्तार भएको छ । वर्षौंसम्म टुकीको भरमा जीवन गुजारा गरेका यहाँका स्थानीयवासीले आफ्नै श्रमदान र लगानीमा अहिले गाउँमा बिजुली बत्ती बाल्न सफल भएका छन् ।

सिंगो गाउँ नै झलमल हुने गरी ३० किलोवाट क्षमताको लघु जलविद्युत् आयोजनाबाट बिजुली बलेपछि अहिले गाउँ नै उज्यालोमय बनेको छ । यहाँ नेपाल विद्युत् प्राधिकरणद्वारा वितरित विद्युत् पुग्न अझै वर्षौं लाग्नेछ तर स्थानीयको श्रमदान, लगानी र अथक मेहनतमा गाउँमा बिजुली बाल्न सफल भएको उपभोक्ता समितिका रनबहादुर खाम्चा बताउनुहुन्छ ।

गाउँका करिब ३०० घरपरिवारमा २४ सै घण्टा बत्ती बाल्ने सुविधा उपभोग गर्न पाएपछि स्थानीय उपाभोक्ता निकै उत्साहित भएका छन् । यहाँका एक घरपरिवारबाट झण्डै ३०० दिन श्रमदान र रु ३४ हजारका दरले रकम संकलन गरेर गाउँ उज्यालो पारेका हुन् । आयोजना सम्पन्न गर्नका लागि नेपाल सरकारको वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रवाट रु ५२ लाख सहयोग प्राप्त भएको उपभोक्ता समितिका खाम्चाले जानकारी दिनुभयो ।

गाउँमा विद्युतीकरण भएपछि बिजुली बाल्न मात्र नभई मोबाइल चार्ज गर्न, रेडियो बजाउन, टिभी हेर्न, विद्यार्थीलाई पठनपाठन गर्न सजिलो भएको स्थानीय प्रेमबहादुर घर्ती बताउनुहुन्छ । टुकी बालेको भरमा आफ्नो जीवन चलाउने गाउँका जनतालाई उज्यालो मात्र भएको छैन, बिजुलीलाई आयमूलक कार्यमा लगाउन पनि पाएका छन् ।

बिजुलीको सुविधा पुगेपछि गाउँमा अहिले होटललगायतका विभिन्न व्यवसाय चलाउन सजिलो भएको होटल व्यवासायी भक्तबहादुर खाम्चाको भनाइ छ ।

खाद्यान्नका वस्तु कुटानी पिसानी गर्न, खाना पकाउन निकै सजिलो भएको इन्दिरा खाम्चाले बताउनुभएको छ । “पहिलापहिला रातभरि ढिकी जाँतो गरेर गुजारा चलाउनु पथ्र्यो, अहिले गाउँमा बिजुली आएपछि यो समस्या सदाका लागि हटेको छ” उहाँले भन्नुभयो ।

स्थानीयको जनश्रमदान र स्थानीयबाटै संकलित रकमबाट सम्पन्न जलविद्युत् आयोजनाबाट उद्योग सञ्चालनको लागि स्थानीय जनतासमक्ष गाउँपालिकाले सहजीकरण गर्ने र बाँकी खपत हुन नसकेको विद्युत् प्राधिकरणलाई बिक्रीका लागि गाउँपालिकाले समन्वयको भूमिका निर्वाह गर्र्नेे योजना रहेको माथागढी गाउँपालिकाका अध्यक्ष सन्तोष थापा बताउनुहुन्छ ।