झण्डै २० हजार मतदान केन्द्र तोकियो

झण्डै २० हजार मतदान केन्द्र तोकियो


निवार्चन आयोगले मङ्सिरमा हुने निर्वाचनको तयारी युद्धस्तरबाटै गरेको छ । आयोगले चुनावको तयारी युद्धस्तरबाटै भइरहेको बताउँदै निर्वाचनका लागि १० हजार ६७१ निर्वाचन स्थलमा १९ हजार ८०९ वटा मतदान केन्द्र कायम गर्ने समेत निर्णय गरेको हो ।

यता आयोगले मतदाता नामावलीलाई ०७४ असोज १७ गते अन्तिमरूप दिइसकेको जानकारी दिएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि कूल मतदाता संख्या १ करोड ५४ लाख २७ हजार ७३१ कायम भएको छ । २०७४ भदौ ५ गतेसम्म १८ वर्ष उमेर पुगेका र फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका मतदाताहरूको नाम उक्त मतदाता नामावलीमा समावेश गरिएको आयोगले जनाएको छ ।

पहिलो चरण अर्थात मंसिर १० गते ३२ जिल्लामा हुने निर्वाचनमा ३२ लाख २८ हजार ८७९ जना मतदाताले मताधिकारको प्रयोग गर्ने प्रमुख आयुक्त डा. अयोधिप्रसाद यादवले जानकारी दिए ।

पहिलो चरणका लागि आवश्यक पर्ने मतदाता नामावली छपाइ गरी सम्बन्धित जिल्लामा पठाइसकिएको आयोगले जनाएको छ ।

त्यसैगरी नयाँ थपिएका मतदाता परिचयपत्र छपाइ गरी वितरण गरिने बताइएको छ । नेपालको संविधानले दिएको जिम्मेवारी पूरा गर्न आयोग दृढताका साथ अगाडि बढिरहेको र त्यसै अनुरूप आसन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको निर्वाचन गर्न सम्पूर्ण तयारी पूरा गर्ने गरी आयोग अहोरात्र खटिरहेको आयोगको भनाई छ ।

निर्वाचन कार्यक्रमअनुसार असोज २९ गते समानुपातिक निर्वाचन प्रणालीतर्फको उमेदवारीको बन्दसूची पेश भई अब आयोग निर्वाचनको अन्तिम चरणमा प्रवेश गरिसकेको छ ।