चुनावमा ‘थ्रेट’ कायमै, तेस्रो तहमा सेना परिचालन गरिने

चुनावमा ‘थ्रेट’ कायमै, तेस्रो तहमा सेना परिचालन गरिने


प्रदेश, प्रतिनिधि सभा चुनावमा अन्तत सेना परिचालन गरिने भएको छ । सरकारले चुनावी ‘थ्रेट’ कायमै रहेको निश्कर्ष निकाल्दै आउँदो निर्वाचनमा सेना परिचालन गर्ने भएको हो ।

राष्ट्रिय सुरक्षा परिषदको बैठक डाकेर प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनको समयमा पुरानै शैलीमा सेना परिचालन गर्ने निर्णय गराएका हुन ।

बैठकले आसन्न संघ/प्रतिनिधी सभा) र प्रदेशको निर्वाचनलाई शान्तिपूर्ण, भयरहित र निष्पक्ष बनाउन आवश्यक पर्ने सुरक्षा समन्वय गर्न समेत सुरक्षा निकायलाई निर्देशन दिइएको छ ।

राष्ट्रिय सुरक्षा परिषदले आगामी मंसिर १० र २१ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पुरानै मोडल (यसअघिकै शैलीमा) सेना परिचालन गर्न सिफारिस गरेको छ । यो बैठकमा भएको निर्णयले निर्वाचन समयमा हुनेमा रहेको आंशकालाई चिरेको एक सदस्यले बताए ।

सुरक्षा परिषदको बैठकमा आगामी निर्वाचनको सुरक्षा बारेमा गम्भीर रुपमा छलफल भएको रक्षा मन्त्रालय स्रोतले बतायो । यसअघि स्थानीय तहमा परिचालन भएझैं सेनाले सुरक्षाको तेस्रो घेरा सम्हाल्ने छ ।

स्थानीय तहको तीन चरणको निर्वाचनमा झैं पहिलो घेरामा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी बल र तेस्रोमा नेपाली सेना परिचालन हुने रक्षा मन्त्रालयले जनाएको छ ।