फूलमा नेपाल परनिर्भर, करोडौँका माला भारतबाट आयात !

फूलमा नेपाल परनिर्भर, करोडौँका माला भारतबाट आयात !


नेपाल फूलमा आत्मर्निभर बन्न नसक्दा करोडौँका माला भारतबाटआयात गरिएको छ । पुष्प व्यवसायी संघका अनुसार यो वर्षको तिहारमा नेपाली बजारमा झण्डै १५ लाख फूलको माला  चाहिनेमा फूलमा नेपाल आत्मनिर्भर बन्न नसक्दा  करिब ३ लाख बढि माला भारतबाट आयात गरिएको हो ।

संघका अनुसार भारतीय बजारमै सरदरमा ३० रुपैयाँ पर्ने फूलको मालाको हिसाब गर्दा तिहारमा मात्रै झण्डै एक करोड बराबरको माला आयात गरिएको छ ।

नेपाली बजारमा मागअनुसारको उत्पादन नभए पनि किसानहरु पुष्प व्यवासायप्रति आकर्षित हुन थालेका छन् । राजधानी उपत्यकाका तीन जिल्लासहित उपत्यका आसपासका नुवाकोट, धादिङ, चितवन, मकवानपूर लगायतका जिल्लामा व्यवसायिक रुपमा फूल उत्पादन हुने गरेको संघको दाबी छ।

नेपाललाई फूलमा आत्मनिर्भर बनाउन सरकारले फूल खेतीतर्फ किसानलाई आकर्षित गर्ने अभियानमा लाग्न जरुरी रहेकोमा पुष्प व्यवसायी बताउछन् ।

कृषि क्षेत्रलाई प्रोत्साहन गर्न यसअघि नेपाल राष्ट्र बैंकले १५ देखि २० प्रतिशत कर्जा उत्पादनशील क्षेत्रमा लगानी गर्न वित्तीय संस्थालाई अनिवार्य गरेको थियो ।

तर कृषिमा ऋण लिने क्रम अझै बढ्न नसक्दा त्यसको असर फूल उत्पादनमा समेत परेको छ । यसले गर्दा तिहारमा सधैं भारतबाट फूल आयात गर्नुपर्ने बाध्यता हट्न नसकेको व्यवसायीहरु बताउँछन् ।

वित्तीय संस्थाबाट सहजै ऋण लिएर फूल खेती गर्ने हो भने तिहारका लागि भारतबाट मखमली र सयपत्री आयात गर्नु नपर्ने व्यवसायीहरु बताउँछन् ।

नेपालमा वार्षिक रुपमा ५ करोड रुपैयाँ बराबर फूलको कारोबार हुने अनुमान गरिन्छ । स्वदेशी उत्पादन कम हुँदा तिहारका बेला लाखौं रुपैयाँको फूल भारतबाट आयात गर्नुपरेको छ ।

नेपाली बजारमा वर्षेनी एक करोड रुपैयाँ भन्दा बढीको फूल भारतबाटै आयात हुने गरेको पुष्प व्यवसायी संघले जनाएको छ ।

नेपालमा मौसमी फूल मात्रै बढी उत्पादन हुने हुँदा वर्षभरी जन्मदेखि मृत्युका संस्कारमा आवश्यक फूलको आपुर्ति भारतबाटै हुने गरेको पुष्प व्यवसायीहरु बताउछन् ।