लक्ष्मीपूजाका दिन विद्युतको माग १५ सय ५० मेगावाट, होटल र उद्योगको विद्युत कटौती गरिने

लक्ष्मीपूजाका दिन विद्युतको माग १५ सय ५० मेगावाट, होटल र उद्योगको विद्युत कटौती गरिने


लक्ष्मीपूजालाई लक्षित गर्दै विद्युतको माग ब्यवस्थापनमा नेपाल विद्युत प्राधिकरण लागि परेको छ । प्राधिकरणले लक्ष्मीपूजाको दिन अर्थात बिहीबार विद्युतको उच्च माग झण्डै एकहजार ५ सय ५० मेगावाटको अनुमान गरेको छ । राजधानी लगायत मुलुकभर साँझको समय झिलिमिली बनाउने हुँदा विद्युतको माग बढ्नेछ ।

विद्युत प्राधिकरणले उच्च माग व्यवस्थापन गर्न सबै विकल्प प्रयोग गरिसकेको जनाएको छ । राजधानीमा विद्युत कटौती नगर्ने र देशभर नै यसलाई कायम राख्ने भार प्रेषण केन्द्रले जनाएको छ । केन्द्रका अनुसार बिहीबार उच्च माग १५ सय देखि एकहजार ५ सय ५० मेगावाट हुनेछ ।

उता, बिहिबार विद्युतकोे उच्च माग १ हजार ५ सय ५० मेगावाट हुने भए पनि आपूर्ति भने करिब १ हजार २ सय १५ मेगावाट हुनेछ । साँझको समयमा औद्योगिक क्षेत्रको माग कटौती गर्दा करिब ३ सय मेगावाट बचत हुन्छ ।

केन्द्रका अनुसार अघिल्लो बर्ष लक्ष्मीपूजाको दिन माग करिब १ हजार ४ सय ४४ मेगावाट थियो । यसपटक झन्डै सय मेगावाट बढ्ने देखिएको छ ।

प्राधिकरणले लक्ष्मीपूजाको दिनमा झिलिमिली बनाउनको लागि भारतबाट ४ सय मेगावाट आयात गर्ने, हेटौंडास्थित १४ मेगावाटको डिजेल प्लान्ट र दुहबीको ३९ मेगावाटको मल्टिफ्यूल सञ्चालन गर्ने, साँझ अर्थात उच्च मागको समयमा होटलहरूमा भएको आपूर्ति कटौती गर्ने, बढी विद्युत खपत गर्ने उपकरण नचलाउन र उद्योगहरु बन्द गर्न आग्रह गर्ने र ‘नो लाइट’ तयारी अवस्थामा राख्ने ब्यवस्था गरेको छ ।